एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

नयाँ वर्ष : प्रकृतिमा सजीवता

विक्रम संवत् अनुसार वैशाख एक गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । नेपालको प्राकृतिक परिवेश नयाँ देखिन्छ । धर्तीमा गर्मीपना बढ्न थाल्छ । प्रकृतिमा सजीवता देखिन्छ । भुईँमा नयाँ झारपात पलाउँछन् । पुराना पात झरेका रुखका हाँगामा नयाँ पात पलाउँछन् । घरदेखि वनसम्म चराचुरुङ्गीको चिरबिर सुनिन्छ । तिनले नयाँ गुँड बनाउँछन्, भाले पोथी भेला हुन्छन् फुल पार्छन् बचेरा कोरल्छन् । धेरै जसो साना अथवा ठुला, घरेलु वा वनेलु पशु प्राणीहरू भाले पोथी सङ्गम गर्ने बेला पनि यही हो । उनीहरूले पनि नयाँ पुस्ता कायम गर्न प्रकृतिले दिएको जिम्मेवारी पुरा गरेकै हुन् । 

अरू देशमा समय गणना के कस्तो छ र कहिलेदेखि नयाँ वर्ष सुरु हुन्छ, त्यो अलग कुरो हो । हाम्रा देशमा जसरी धेरै थरी जातजाति मिलेर बसोबास भएको छ उसै नयाँ वर्ष पनि एउटा मात्रै नभई धेरै छन् । विक्रम संवत्, शक संवत्, मैथिल संवत्, नेपाल संवत्, एले संवत्, सोनाम संवत् ईसवी संवत् आदि धेरैथरि संवत् छन् । यसो भए तापनि आज विक्रम संवत् २०७९ नयाँ वर्ष सुरु भएको हुनाले त्यसैको केही चर्चा गर्न लागियो ।   

नयाँ पुरानो छुट्टिने आफ्नै आधार हुन्छ । जम्मा एउटा मात्रै छ भने त्यसलाई नयाँ वा पुरानो भन्नै परेन । घर, कोट मात्रै भन्दा पुग्यो । देखिने, छुने र चलाउन मिल्ने वस्तु वा भौतिक वस्तुमा नयाँ र पुरानो सापेक्ष हुन्छन् । समय एक समान गतिमा छ, उसलाई थप्न, घटाउन, देख्न, थोत्रो बनाउन वा नयाँ बनाउन कसैले सक्तैन । समय भनेको अमूर्त र अनुभूत अवस्था मात्रै हो । त्यसैले ‘‘कालो न याता वयमेव याता । तृष्णा न जीर्णा वयमेव जीर्णा’’ भनिएको छ । यसको अर्थ— ‘‘समय बितेको होइन, हामी नै बितेका हौँ । रहर थोत्रो हुँदैन हामी नै थोत्रिन्छौँ’’ भन्ने लाग्छ । भनाइ सत्य हो वा होइन आफैँ विचार गर्दा भयो । 

नयाँ वर्षको शुभकामना दिन सबैलाई रमाइलो लाग्छ । कसैलाई मनदेखि सम्झेर त कसैलाई सामुमा देख्ता औपचारिकता पूरा गर्दै, कसैलाई उपहारसहित र कसैलाई सन्देश मात्रै दिएर, प्रायः सबैले नयाँ वर्षको शुभकामना ज्ञापन गर्छन् र गर्छौँ । थालनी जसले गरे पनि त्यस बेला दुवै पक्षबाट परस्परमा शुभकामनाको आदान प्रदान प्रायः हुन्छ । २० वर्ष पहिले बनाएको एउटा घरका छेउमा नजिक नजिकै कुनै दस वर्ष पहिले बनाइएको, कुनै पाँच वर्ष पहिले बनाइएको र कुनै तीन महिना अघि बनाइएको घर होस् । पाँच वर्ष अघि सिलाएको कोट र यसैपालि दसैँमा सिलाएको कोटलाई हेरौँ । 

आफ्नो व्यवसाय सुधारेका छिमेकीको प्रशंसा गर्नु उदारता हो र विदेशी मित्रले आफ्नै देशको सेवा गर्दा प्रशंसा गर्नु राम्रै हो । हाम्रा देशका, अर्का देशका सबैले आआफ्ना तरिकाले नयाँ वर्ष मनाउँछौँ । अर्काका देशको नयाँ वर्षलाई शुभकामना दिनै नहुने होइन । शुभकामना दिनु उचित हो, अरूले नयाँ वर्ष कुन कारणले मनाए भन्ने र हामी नयाँ वर्ष कुन कारण मनाउँदै छौँ भन्ने जानिराख्नु राम्रो कुरो हो । 

अब नयाँ वर्ष सुरु भयो, छोराको बिहे गर्नुपर्ने, ज्ञानगुनले सम्पन्न बुहारी खोजी गर्नुपर्छ अथवा छोरी पनि हुर्किई, अब असल ज्ञानगुन भएको, राम्रा संस्कारी परिवारको केटो पाइएदेखि यो वर्ष बिहे गरिदिनुपर्छ भन्ने सल्लाह घरघरमा हुन्छ । आँखाकै सामु सिङ्गै प्रकृतिले नयाँ रूप लिएको देखेपछि नयाँ वर्षको सुरुवात यही समय हो भनेर शुभकामना आदान प्रदान गर्न मानिसलाई केही असहज देखिँदैन । त्यसैले यी हरफहरू पढिदिनुभएको खुसीमा लेखका बीचैमा एक पटक नयाँ वर्ष २०७९ को विशेष शुभकामना छ । 

आधुनिक युगको, विश्व स्तरीय, संस्था युनेस्कोले वैज्ञानिक अनुसन्धान गरेर नै ऋग्वेदलाई विश्वको सबैभन्दा पुरानो ग्रन्थ मानेको छ । त्यही ऋग्वेदमा वर्ष, संवत्सर, अयन, ऋतु, मास, पक्ष आदि समयका एकाइ सूचक शब्दहरू छन् । वेदको रचना भएको भूमिभित्र हाम्रो देश सबै पर्छ । वेदबाट प्रतिपादित ज्योतिष विषयका ग्रन्थमा— ६० वटा संवत्सर वा वर्ष पालैसँग आउने, हरेक वर्षभित्र दुई वटा अयन, दुई वटा अयनभित्रै छ वटा ऋतु, छ वटा ऋतुभित्रै १२ वटा महिना, १२ वटा महिनाभित्रै सात वटा बार, सात वटा बारभित्रै भएका तीन सय ६५ दिन र दिनलाई पनि घडी, पला, विपला, निमेष, पल, लव गरी अझ साना एकाइमा विभाजन गर्ने व्यवस्था बनाएको छ । यो व्यवस्था समयको गणना हो र समय गणनाको आधार चन्द्र, सूर्य ग्रह नक्षहरुका गतिको अध्ययन गरेर तयार गरिएको हो । 

६० वटा संवत्सरदेखि सात वटा बारसम्म सबैका आआफ्ना नाम छन् । ती नामहरू के के हुन् र नामको उपयोगिता के हो भन्ने विषयमा सन्दर्भ परिआउँदा चर्चा गरौँला । वर्षभन्दा पछि मन्वन्तर, युग, चतुर्युग, कल्प आदि समयको एकाइका अरू पनि नाम वेद र वैदिक वाङ्मयमा पाइन्छन् । नयाँ मन्वन्तर मनाउने वा युग मनाउने अवसर मानिसका सीमित आयुमा पुग्दैन । मानिसका जीवनमा साठी वटा संवत्सर दुई पटक पूरा हुन पनि पाउँदैन । त्यसैले मानिस नयाँ वर्ष मनाउँछ र आजको विषय पनि नयाँ वर्ष हो ।

वैदिक समाजका वार्षिक देव कार्य पूजाआजा र पितृ कार्य श्राद्ध आदि चन्द्रमाको गति अनुसार गणना गरिने संवत्सरका आधारमा हुन्छन् । वेदमा वसन्त, ग्रीष्म आदि ऋतुहरूको उल्लेख छ । ठाउँ विशेषमा पर्ने तापक्रम, जलवायु परिवर्तन, प्रकृतिमा देखिने प्रभाव, सामयिक उत्पादनसँग ऋतुहरूको सम्बन्ध हुन्छ । त्यही हुनाले हाम्रो देशमा छ ऋतुहरू छन् । अरू देशमा आफ्नै जलवायु अनुसार ऋतुहरू कम बेसी पनि होलान् र हाम्रामा देशमा वसन्त ऋतुलाई पहिलो मानेझैँ उनीहरूको आफ्नै पहिलो ऋतु होला । वसन्त ऋतुमा पर्ने वैशाख महिनाको एक गतेलाई नयाँ वर्ष मानेझैँ उनीहरूले पनि आफ्नो नयाँ वर्ष मानेका होलान् । 

वैशाख एक गते मनाइने नयाँ वर्ष विक्रम संवत् अनुसारको हो । यसको गणना सूर्यको गति अनुसार हुन्छ । राजा विक्रमादित्यका नाममा स्थापित यस संवत्का २०७८ वर्ष बितेर ७९ औँ वर्षमा प्रवेश गर्ने तयारी हो । जुनसुकै नामको नयाँ वर्ष सूर्य वा चन्द्रको गतिसँग सम्बन्ध नभएका हुँदैनन् । वर्ष पूरा हुन महिना पनि चाहिन्छ । वैदिक पद्धतिले महिनाहरूसँग नक्षत्रहरूको सम्बन्ध देखाएको छ । 

वैशाख विशाखा नक्षत्रसँग, ज्येष्ठ ज्येष्ठा नक्षत्रसँग, आषाढ पूर्वषाढा र उत्तरषाढासँग, श्रावण श्रवण नक्षत्रसँग, भाद्र पूर्वभाद्रा र उत्तरभाद्रा… जस्तै गरी सबै महिनाको सम्बन्ध नक्षत्रसँग रहेको देखिन्छ । १२ वटा महिनाको नाम १२ राशिसँग सम्बन्धित छ । सात वारका नाम ग्रहसँग मिल्दो छ र यो अङ्ग्रेजी महिनामा पनि मिलेको देखिन्छ । यी नक्षत्र, ग्रह भनेका आकाशीय पिण्ड हुन् । ग्रह नक्षत्रको गतिसँग समयको गणनाको सम्बन्ध अङ्ग्रेजी महिनाले पनि स्वीकार गरेको देखियो । 

लेखको लक्ष्य केवल वैशाख एक गते नयाँ वर्ष मान्नुको सान्दर्भिकता सिद्ध गर्ने नै हो । त्यसैले ऋग्वेदको समय र राजा विक्रमादित्यका समयको अन्तर कति हो भन्ने यस लेखमा खोजिएन । त्यसो हुँदा पनि हिजोका राणा र शाह वंशीय राजा महाराजा तथा आजका काङ्ग्रेस कम्युनिस्ट जस्ता दलहरू नजन्मिँदा पनि, अझ तिनका सिद्धान्तकार नजन्मिँदा पनि अझ साँच्चै भन्ने हो भने तिनीहरूले सिद्धान्त प्रतिपादन गरेका देशको परिचय नहुँदै यस भूमिमा राज्य चलेको रहेछ भन्ने प्रस्टै थाहा भयो । राज्य चलेको मात्रै होइन, ऋग्वेदको रचना भइसकेको रहेछ । त्यतिको ग्रन्थ रचना गर्न सक्षम शिक्षितहरू रहेछन् । आजको ब्राजिल फुटबलमा विश्वको अब्बल छ । के ब्राजिलमा तिनै फुटबल राष्ट्रिय खेलाडीले मात्रै फुटबल खेल्न सिकेका होलान् र ? धेरै जनाको प्रतिस्पर्धाबाट छानिएका त्यहाँ पुगे होलान् भन्ने स्वतः अनुमान गर्न सकिन्छ । 

ऋग्वेदका स्रष्टाहरू मात्रै त्यहाँ शिक्षित नभएर अरू धेरै शिक्षित थिए, शिक्षितबाट छानिएकाहरू रचनामा स्थापित भए र पढ्न सक्नेहरू पनि मनग्गे थिए । लेखक भएका ठाउँमा पाठक पनि हुन्छ । कुनै देश शिक्षामा त्यति अघि पुगेको छ भने अन्य किसिमको उन्नतिमा पछि परेको अवश्य हुँदैन । त्यसैले यस देशका पुर्खाले आर्जन गरेका शिक्षाबाट प्रतिपादन भएका ७ बार, ९ ग्रह, १२  महिना, १२ राशि, १५  तिथि,  २७ नक्षत्र, आजका वैज्ञानिकहरू विना विरोध मान्दछन् । त्यसै स्रोतबाट प्रतिपादित हाम्रा पुर्खाले थालनी गरेको नयाँ वर्ष वैशाख एक गते पनि उस्तै वैज्ञानिक छ । हाम्रा पुर्खाको योगदानलाई अध्ययन नगरी लहै लहैमा लागेको भरमा माटो पानी, प्रकृति सुहाउँदो यो विज्ञान बुझ्न सकिन्न ।

नेपालकै भूमि अथवा यसको आसपास अर्थात् जलवायुका दृष्टिले समानता राख्ने भूमिमा मनाइने नयाँ वर्षहरू विक्रम संवत्कै आसपासका समयबाट मनाइएको देखिन्छ । लेखको सुरुमा समय अमूर्त हुन्छ घर वा लुगा कपडा जस्तो नयाँ वा पुरानो भनेर दाँज्न सकिँदैन भनिएको कुरो ठिक हो तर हरेक पल पुरानो क्षण बितेर नयाँ पल आउँदै छ । त्यसैले पोहोर बितेको जस्तै नयाँ नयाँ वर्ष यसपालि पनि आएको छ तर पोहोरको दिन आएको होइन, पोहोर २०७८ को वैशाख एक गते थियो तर यस वर्ष २०७९ को वैशाख १ गते नयाँ वर्षको शुभकामना । 

(लेखक चार वेद लगायत संस्कृतका पचासौँ ग्रन्थका नेपाली अनुवादक तथा पूर्वीय वाङ्मयका अध्येता, अनुसन्धाता, व्याख्याता र प्रस्तोता हुनुहुन्छ ।)

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १० : २१ बजे