‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 नयाँ वर्ष २०७९ प्रारम्भ

आजदेखि विक्रमको नयाँ वर्ष २०७९ प्रारम्भ भएको छ । २०७८ का उपलब्धिहरू पहिचान गर्ने, तिनीहरूलाई निरन्तर सदुपयोग गरिरहने, नयाँ उपलब्धिहरू प्राप्त गर्न नयाँ सोच, नयाँ उत्साह र जाँगरकारसाथ नयाँ योजनाहरूको रूपरेखा तयार पार्ने आदि कामहरू नै नयाँ वर्षले हामीलाई दोहोर्‍याउने विषय तथा क्षेत्र हुन् । 

हाम्रो नयाँ वर्ष वैशाख १ गते प्रारम्भ हुने गर्दछ । यो मौसम परिवर्तनको समेत दिन हो । चैतको हुर्हुरे हावाले शुष्क पारेका वनस्पतिमा नयाँ पालुवा पलाउने, वन्य पङ्क्षीहरू गृह(गुँड) बनाउन र गृहस्थीको प्रारम्भ गर्ने, वर्षको पहिलो महिनाको पहिलो दिन हुने आदि अनेकौँ प्राकृतिक, सांस्कृतिक र पारम्परिक महत्त्वका हिसाबले पनि हामीले मनाउँदै आएको नयाँ वर्षको अहम् स्थान रहेको छ । 

ज्योतिषीय हिसाबले हेर्दा पनि यो महिना र यसको प्रारम्भको यो दिन विशिष्ट प्रभाव राख्ने दिन हो । सूर्यको गतिका हिसाबले प्रथम राशि—मेष राशिमा र चन्द्रमा विशाखा नक्षत्रमा पूर्णिमा पर्ने गरी परिक्रमा गरिरहने हुनाले मेष सङ्क्रान्ति र वैशाख सङ्क्रान्तिका रूपमा यो दिन प्रारम्भ हुने गर्दछ । ज्योतिर्विज्ञानका हिसाबले यो दिन अत्यन्त महत्त्वको दिन हो । 

यस दिनलाई हामीले ज्योतिष जानेर र त्यसको प्रभाव जानेर होइन, समयको एउटा उचित तथा निश्चित नापोको रूपमा मनाउँदै आएका छौँ, तथापि यसलाई हामीले आफू शुभ काममा समर्पित हुने र अरूलाई शुभ कामना दिने उत्सवका रूपमा मनाउँदै आइरहेका छौँ । 

वास्तवमा सेकेन्ड, मिनेट, घण्टा, प्रहर, दिन, रात, साता, पक्ष, मास(महिना), वर्षका रूपमा विभाजित समयका हरेक भाग वा अंशलाई सदुपयोग गर्ने सुविधाका लागि यी विभाजनहरू महत्त्वपूर्ण रहेका छन् । यी विभाजनले हाम्रो जीवनका हरेक कालखण्डलाई स्पर्श गरेका हुन्छन् । हामीले पनि यी सबैलाई स्पर्श गरेकै हुन्छौँ । हरेक पल एउटालाई बिदाइ र अर्कोलाई स्वागत गरिरहेका हुन्छौँ । 

सेकेन्ड, मिनेट, घण्टा, प्रहर, दिन, रात, साता, पक्ष, महिना, वर्ष जेसुकैमा गणना गरिए तापनि यी सबै हाम्रो जीवनका अंश हुन् । जीवनलाई सफल, समृद्ध र सुखी, बनाउन चाहने हरेकले यी समयको हेक्का राख्नै पर्ने हुन्छ । यसको बेवास्ता गर्नु भनेको जीवन प्रतिको बेवास्ता हुन्छ । 

प्रकृतिको व्यवस्था तथा मान्यताका हिसाबले हामीले नयाँ वर्ष मनाइरहँदा मानवीय व्यवस्थापनका विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ । व्यवस्थापनको कुरा गर्दा राज्य र राजनीतिको विषय हाम्रा सामु उपस्थित हुन्छ नै । नेपालमा राजनीतिक दृष्टिले यो वर्ष त्यति उत्साह र उपलब्धिमूलक हुन सकेन । राजनीतिक दलहरूले आफूलाई व्यवस्थित राख्न सकेनन् । यिनीहरूमा टुटफुट र विभाजन आइरह्यो । यस क्रममा साबिक दलहरूबाटै नयाँ दल जन्मिए । यस वर्ष आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर सिद्धान्त, विचार नमिल्ने दलसँग साँठगाँठ गरी सरकारमा सामेल हुने स्वार्थी प्रवृत्ति देखियो । लोकतन्त्र, प्रजातन्त्र, जनवाद, समाजवादको नारा लगाउने दलभित्रका केही व्यक्तिहरूले आफ्ना निहित स्वार्थ र सत्तालिप्साका कारण दलमा विभाजन गर्ने काम गरे । जनताबाट निर्वाचित भएर सांसद मन्त्री बनेकाहरूले जनमतलाई खण्डित पार्ने काम गरे । सत्ता बाहिर रहेका शक्तिहरूले जनताको अभिमतको सम्मान गर्न सकेनन् । 

राजनीति राज्य व्यवस्था सञ्चालन गर्ने शक्ति हो । राजनीतिक दलहरू त्यही शक्तिका अंश हुन् । तर, स्वयं राजनीतिक क्षेत्रले आफ्नामाथि विश्वास गर्न नसकेको देखियो । राजनीतिको सर्वोच्च शक्ति भनेका जनता हुन् । पार्टीलाई शक्तिमा उचाल्ने र शक्तिहीन बनाएर पछार्ने आधार शक्ति जनता हुन् । जनताकै मत अर्थात् जनमतबाट दलको शक्ति बन्ने हो । यो वास्तविकताका विपरीत राजनीतिका हरेक झिना मसिना विषयलाई अदालतको विषय बनाइयो । जनादेशमा ठाउँमा अदालतको परमादेशलाई सत्तामा पुग्ने शक्ति बनाए । 

वर्ष २०७८ बहुमतको सरकार ढालिने, टुक्रे जनमतबाट सत्ता चलाइने, न्यायिक क्षेत्र नराम्ररी खलबल्याउने, सबैतिर भागबन्डा र सेटिङ्ग प्रभावी हुने, प्रदेश सरकारहरू ढालिने र अल्पमतले नेतृत्व गर्ने गरी सरकार बनाइने क्रियाकलाप देखिए । दृष्टिकोण, सिद्धान्त, विचार, निष्ठाको राजनीति कमजोर देखियो । आज एउटा दलमा रहेका नेता भोलि अन्तै र कता ? भन्ने अवस्था रह्यो । 

संसद् सुचारु हुन सकेन । संसद्का नेता सभामुखको निष्पक्षतामाथि जवाफै दिन नसक्ने गरी प्रश्नहरू उठे । राज्यको समग्र व्यवस्थापन गर्न बनेको सरकार संसद्मा उठेका विषयको समाधान गर्नभन्दा अध्यादेशबाट काम चलाउन उद्यत देखियो । संसद्मा सबैभन्दा ठुलो दललाई बाहिर राखेर बनेको टुक्रे गठ जोडको सरकारले प्रमुख प्रतिपक्षको अवरोधकै बीचमा केही विधेयक र अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्‍यो । अन्य विधेयकहरू पारित गरी मुलुकलाई आवश्यक पर्ने ऐन बनाउने विषयमा प्रतिपक्षको अवरोध देखाएर पन्छिने काम गर्‍यो, समाधानको दिशामा अग्रसर हुन सकेन । 

वैदेशिक मामिलामा पनि २०७८ सन्तोषजनक देखिएन । विश्वशान्ति र असंलग्न परराष्ट्र नीतिको पक्षमा रहँदै आएको नेपाल रुस—युक्रेन युद्धमा तटस्थ रहन सकेन । अमेरिकी सहयोग लिने विषय संसद्बाट पारित गरिरहँदा चिनियाँ प्रस्तावको बिआरआईलाई अघि बढाउने दिशामा जान सकेन । यसबीच भएको प्रधानमन्त्रीको भारत भ्रमणले पनि थप सन्देह पैदा गरायो । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नेपाललाई ठिक ठाउँमा राख्न सकेन । 

वैदेशिक व्यापार घाटा बढेको, नेपाली मुद्रा (रुपैयाँ)को क्रय शक्ति घटेको, दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको, सिटामोल सम्मको अभाव भएको, सिटामोलको मूल्य बढाउने गरी अवैज्ञानिक उत्पादनको स्वीकृति दिएको, विदेशी मुद्रा सञ्चिती घटेको, वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढ्दा पनि विप्रेषण (रेमीट्यान्स) घटेको, पूर्ववर्ती सरकारले अघि बढाएका योजनाहरू नै स्थगित गर्ने र रकम कटौती गरेको आदि आर्थिक क्षेत्रका समस्याहरू पनि २०७८ का कमजोर पक्ष रहे । सङ्कटापन्न आर्थिक अवस्था र अर्थतन्त्रलाई सही बाटोमा ल्याउने प्रयत्नमा सरकार कमजोर देखियो । अझ वर्षको अन्तमा नेपाल राष्ट्र बैङ्कका गभर्नरलाई हटाउने सरकारी रवैयाले अनेकौँ शङ्का र सवाल जन्माएको छ । 

वर्ष २०७८ सामाजिक दृष्टिले पनि सन्तोषजनक देखिएन । विगतका वर्षहरूमा कुनै खास एउटा घटनालाई लिएर निरन्तर आन्दोलन हुने गरेकोमा वर्ष २०७८ भएका महिला हिंसा, बालिका बलात्कार, दुधमुखे शिशु सम्म बलात्कार र नृशंस हत्या, सुरक्षाकर्मी प्रहरीमाथिको आक्रमण जस्ता विषय दुःखदायी रहे । 

वातावरणमा बढ्दो प्रदूषण, राजनीतिमा बढ्दो अवसरवाद, उपभोग्य वस्तुमा बढ्दो मूल्य, औषधिको अभाव, दुर्लभ वन्यजन्तुको चोरी सिकारी र हत्या, सांस्कृतिक पुरातात्त्विक तथा ऐतिहासिक सम्पदा संरक्षणका क्षेत्रमा देखा परेको उदासीनता, सामाजिक विकृति, अराजकता र उच्छृङ्खलता आदि हाम्रा सामु नयाँ वर्षमा पनि विरासतका रूपमा उपस्थित छन् । यिनको समाधानका लागि हामी सबैको प्रतिबद्धता र तत्परता आवश्यक छ । यी नयाँ वर्षका लागि हाम्रो कामका एजेन्डा हुन सक्दछन् । 

तर, यी सबैका बाबजुद स्थानीय तह निर्वाचनको घोषणा हुनु राम्रो विषय हो । लोकतन्त्रमा चुनाव एउटा प्रक्रिया मात्र होइन, यो प्रणालीकै सौन्दर्य हो । यसलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारको बन्दोबस्त, राजनीतिक दलहरूको सुझबुझ र मतदाताको उच्च सचेतना आवश्यक छ । निर्वाचनको माध्यमबाट प्राप्त हुने जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको दायित्व हो । 

विगतका वर्षमा देखिएका कमजोरीहरूसँगै नयाँ र आसलाग्दा विषयहरू पनि अवश्य छन् । कमजोरीहरूको उल्लेख गर्नुको तात्पर्य पनि ती विषयमा राम्रो गर्न सकियोस् भन्ने नै हो, यस अर्थमा हाम्रा लागि ती सबै अवसरका विषय क्षेत्र पनि हुन् । 

नयाँ वर्ष हामीले वर्षभरि गरेका वा हामीबाट हुन बाँकी रहेका कामहरूको समीक्षा गरी नयाँ र सार्थक ढङ्गले अघि बढ्ने शुभ अवसर हो । समय खोला जस्तै हो, बगिसकेपछि पुनः फर्कँदैन । नयाँ वर्ष नयाँ सङ्कल्प, नयाँ योजना वा योजनाको नवीकरण, नयाँ उत्साहको अवसर हो । यसलाई सदुपयोग गर्न सकौँ । नयाँ वर्ष २०७९ को शुभकामना !! 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : १९ बजे