पछिल्लो २४ घण्टामा थप १९ मा सङ्क्रमण पुष्टि

काठमाडौँ / देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३१ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५७ रहेको छ ।

पछिल्लो समय थप ४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार १६० पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय ५६ हजार ७३५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५२० रहेको छ । अहिले होम आइसोलेशनमा ४९६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आईसीयूमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १० : ०३ बजे