बागमती प्रदेशले जारी गर्‍यो चार अध्यादेश 

हेटौँडा । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । 

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान(पहिलो संशोधन) अध्यादेश,  स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी(पहिलो संशोधन) अध्यादेश जारी गरेको छ ।

जारी अध्यादेशलाई प्रदेशसभाको आगामी बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गरी प्रदेशसभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गर्नुभएको थियो । 

प्रदेश प्रमुखको कार्यालयका अनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गर्नुभएको हो।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रूपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौँडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा सङ्घ संस्थाले विरोध गरिरहेका छन् । 

चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौँडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ३१ बजे