एघार बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौँ । ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ मङ्गलवार सम्पन्न भएको छ ।सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज र समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने सङ्कल्प गरेका छन् ।

‘घर–घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आआफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियानताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शङ्करमान श्रेष्ठले पनि सो नारालाई मूल मन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गर्नुभयो । 

“घरघरमा उद्यम फैलाउने र गरिबी शून्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्”, उहाँले भन्नुभयो, “तपाईँहरू सबैले आफ्ना वरिपरिका दाजुभाइ दिदी बहिनीहरूमध्ये पाँच जनालाई आफू जस्तै उद्यमी बनाउने अभियान चलाउनुहोस्, हाम्रो सङ्कल्प कार्यान्वयन हुनुपर्छ ।”

हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे घोषणापत्रमा उल्लेख छ । सम्मेलनका अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन महिलालाई पुरस्कृत गरिएको थियो । 

तनहुँको भानु गाउँपालिका र दाङको तुलसीपुरमा गाई पालन गरिरहनुभएका बबिता गुरुङ र सरिता रेउले तथा रंगेली–१ मोरङमा तरकारी खेती गरिरहनुभएका सरिताकुमारी साह उत्कृष्ट उद्यमी बनेर जनही रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : १० बजे