उम्मेदवार सिफारिस गर्न नै मतदान

दमौली ।  नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ । 

प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गर्नुभएको छ । वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस हुनुभएको छ । एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ 

घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ । एमालेले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत् उम्मेदवार टुङ्गो लगाएको हो । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस हुनुभएको छ । उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सक्नुभएन । उपाध्यक्षका लागि दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस हुनुभएको छ ।

ऋषिङको अध्यक्षमा चार आकांक्षी

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दावी गरेका छन् । गाउँपालिकाको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकाङ्क्षा व्यक्त गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गर्नुभएको छ । यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

व्यासमा १२ आकाङ्क्षी

व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट १२ जना आकाङ्क्षी देखिनुभएको छ । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा नगरप्रमुख पदमा १२ जनाले आकाङ्क्षा व्यक्त गर्नुभएको हो । 

नगरप्रमुखका लागि राजेन्द्र कार्की, रत्नकुमार श्रेष्ठ, ईश्वरबहादुर विष्ट, कुलबहादुर थापा, दीपेन्द्रराज शाही, अनिल पाण्डे, देवीबहादुर बस्नेत, दीर्घबहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुषालले आकाङ्क्षा व्यक्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गर्नुभएको बताइएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ४७ बजे