उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप र गभर्नर प्रकरणमा शेखर कोइरालाको आपत्ति 

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् । 

नयाँ वर्षको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए । 

स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए । संयम र धर्यताकासाथ अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । 

नेता कोइरालाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णप्रति पनि आपत्ति जनाए । देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बनले झन् ओरालो लाग्ने उनको भनाइ छ । 

विश्व बैंक, एसियाली विकास बैंक जस्ता वित्तीय संस्थाले नेपालको अर्थतन्त्र र गतिविधिलाई हेरिरहेको हुने भन्दै उनले भने, ‘अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर, गभर्नरले आफ्नो कुरा सुनेन भनेर निलम्बन गर्नु एकदम गैरजिम्मेवार हो ।’   

कांग्रेस नेताद्वय गोविन्दराज पोखरेल र मिनेन्द्र रिजालले पनि गभर्नर अधिकारीको निलम्बनप्रति आपत्ति जनाए । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : १६ बजे