दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पाठेघर सम्बन्धी समस्या र बच्ने उपाय – डा उषा कार्की

काठमाडौँ । कान्तिपुर हस्पिटलमा कार्यरत स्त्री रोग तथा बाझोपन विशेषज्ञ उषा कार्कीसँग चक्रपथकर्मी युवराज ढुङ्गेलले पाठेघरसम्बन्धी समस्या र यसबाट बच्ने उपायबारे तयार पार्नु भएको सन्दर्भ सामाग्री : 

पाठेघर भनेको के हो ? यसले कसरी कार्य गर्दछ ? 
पाठेघर मानव स्त्री जाती लगायतका सम्पूर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । यो एकतर्फ योनी मार्गसँग जाेडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । जसले सन्तान जन्माउनलाई ठुलो भूमिका खेल्दछ । यो एउटा खोक्रो मांसपेशी अङ्ग हो । यो पेल्भिक क्याभिटीको बीचमा रहेको नास्पाती आकारको मुड्कीको जत्रो अङ्ग हो । यसलाई बच्चादानी पनि भनिन्छ । यसको नाप ७ सेमी लामो, ५ सेमी चौडा र २.५ सेमी मोटो हुन्छ । 
पाठेघरको कार्य भनेको शुक्रकीटलाई बाँच्ने वातावरण तयार पार्ने, निषेचित अण्डलाई पोषणका साथै अक्सिजन र सुरक्षा दिने, मासिक स्रावलाई नियमित पार्नु र भ्रूण विकासका लागि पुरा सहयोग गर्नुका साथै ९ महिना पुगेपछि बच्चा बाहिर निकाल्ने कार्य गर्नु हो । 

पाठेघर र बाँझोपनको सम्बन्ध के रहेको छ ? 
महिला र पुरुष विच लामो समयसम्म याेनसम्पर्क गर्दा समेत पाठेघरमा बच्चा बसेन भने बाझोपनको संज्ञा देखा पर्न सक्छ त्यसका लागि स्त्री तथा बाझोपन विशेषज्ञका गएर परामर्श लिनुपर्दछ । बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ । यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ।

पाठेघरमा रोग आउनुको कारण के के हुन् ?
सरसफाइ अभाव, मल्टीपल सेक्स पार्टनर, कम उमेरमा बच्चा जन्माउँदा, बच्चा बढी जन्माउँदा, अत्यधिक चुरोटको सेवन, अवाञ्छित गर्भपतन, वंशाणुगत समस्या साथै महिनावारीमा हुने गडबडीको कारण, हर्माेनको कमीका कारणले समेत पाठेघरमा रोग आउन सक्छ । पाठेघरमा कुनै समस्या छ भने पनि पाठेघरमा रोग आउने गर्दछ । फ्राइब्रोइड, एन्डोमोइसिस, एडीनोमायोसिस जस्ता पाठेघरमा हुने समस्याले रोग आउन सक्छ । 

पाठेघरमा समस्या नआउन दिन के के गर्ने ? 
चाडबाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधी प्रयोग गर्छन् । यसको कारण पनि पाठेघरसम्बन्धी थुप्रै समस्या देखिने गर्छ । किनकि यस्ता प्रकारका औषधीको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पुर्‍याउँछ । पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ । खासगरी यसले मासिक श्रावमा समस्या निम्त्याउँछ त्यसैले सकेसम्म यस्ता किसिमका व्यवहार नगर्नुहोला । खानपानमा विशेष ध्यान दिने, नियमित व्यायाम गर्ने, र तौललाई सन्तुलन राख्ने पनि गर्नुपर्दछ । 

पाठेघरलाई रोगको घर भन्नुको कारण के हो ? 
बच्चाको निर्माण हुनका लागि पाठेघरको अति नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यसक्रममा धेरै समस्याहरू आउन सक्छन् । त्यस्ता समस्याहरूले एक वा एक भन्दा बढी रोगको उत्पत्ति हुने भएकाले यसलाई रोगको घर भनेको हो ।

पाठेघर किन खस्छ ? 
विशेषगरी गाउँघरका महिलामा पाठेघर झर्ने समस्या देखिन्छ । खासगरी गह्रौँ भारी बोक्ने, कम उमेरमा बच्चा जन्माउने, बढी जन्माउने, अत्यधिक चुरोट सेवन गर्ने भएकै कारण यस्तो समस्या हुने गर्छ । यस्तो समस्या भएमा त्यति साह्रो खोक्नु पनि हुँदैन । यसो गर्दा पाठेघर झन् तल झर्ने खतरा हुन्छ । सुत्केरी महिलालाई पुरै आरामको जरुरत हुन्छ । यसो गरेमा  यस्ता समस्या निम्तनबाट बच्न सकिन्छ । व्यथा लागेको लामो समयसम्म डेलिभरी हुन नसक्दा साथै डेलिभरीको क्रममा प्रयोग गरिएका औजारहरूको गलत प्रयोग भएमा हेलचेक्राइको कारणले पनि यो समस्या आउने र महिनावारी सुके पछि हर्मोनहरुको कमिले पाठेघर खस्ने समस्याहरू हुन सक्छन् । 

धेरै रक्तस्रावले पाठेघरमा समस्या आउँछ त ? 
पाठेघरको समस्या भनेको पाठेघरकै कारणले हुने रक्तस्रावले हो । रक्तस्रावको कमी भएमा रगतको कमी हुने र रगत चढाउनु पर्ने हुन्छ । 

पाठेघरमा क्यान्सर कसरी हुन्छ ? 
पाठेघरमा क्यान्सर धेरै कारणले गर्दा हुने गर्दछ । पाठेघरको क्यान्सर किन हुन्छ  ठ्याक्कै एउटै मात्र कारण छैन । पारिवारिक पृष्ठभूमि पनि यसमा जिम्मेवार रहन्छ । यो वंशाणुगत रूपमा अर्को पुस्तामा आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, एचआइभी सङ्क्रमण, बाँझोपन, यौन गतिविधि आदिले पाठेघरको क्यान्सर हुनसक्छ । त्यस्तै ५० वर्षपछि अर्थात् मासिक स्राव बन्द भइसकेपछि पन रगत बग्नु, अनियमित मासिक स्राव, धूम्रपान लगायत अस्वास्थ्यकर जीवनशैलीको कारण पाठेघर को क्यान्सर हुनसक्छ । पाठेघर क्यान्सरको सम्भावना प्रौढ उमेरकालाई बढी हुन्छ । खासगरी ५० वर्ष उमेर नाघेका महिलाहरू पाठेघर  क्यान्सरको जोखिम वर्गमा पर्छन् । यसले अण्डाशयको केहस् भागलाई प्रभावित बनाउन सक्छ । महिलाको अन्य क्यान्सरको तुलनामा यो बढी घातक मानिन्छ । पाठेघर  क्यान्सरबाट बच्ने प्राथमिक विधि भनेको स्वास्थ्यकर जीवनशैली हो । सकेसम्म यस रोग लाग्न दिनहुन्न । यदि प्रारम्भिक अवस्थामा रोग पत्ता लगाइयो भने उपचार सम्भव छ । सङ्क्रमित अङ्गलाई शल्यक्रियाद्वारा पनि उपचार गर्न सकिन्छ ।

पाठेघरको समस्या बढी कुन प्रजनन उमेरमा देखिन्छ ? 
सानो उमेरमै बच्चा जन्माउने १५ देखि २० वर्षका व्यक्तिहरूमा बढी यो समस्या देखिएको छ तर त्यो भन्दा माथि ४५ वर्षसम्मका व्यक्तिहरू पनि यस्ता समस्याहरू देखिने गरेको पाइन्छ । 

पाठेघरमा रोग भएमा कस्ता लक्षणहरू देखापर्दछ ?
पाठेघरमा सङ्क्रमण भइसकेपछि महिलामा तल्लो पेट दुख्ने गर्छ । यस्तै, ढाड दुख्ने पनि समस्या हुन सक्छ । बिस्तारै सेतो पानी बग्ने, गनाउने पानी बग्ने, यौन सम्बन्ध राख्दा पोल्ने वा दुख्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा कमजोरीपन देखापर्ने, ज्वरो आउने हुन्छ । महिनावारीमा गडबडी हुने गर्छ । पिसाबमा समस्या देखिन्छ, पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने हुन्छ । 

पाठेघरको समस्याले मुत्यु हुने सम्भावना कतिको हुन्छ ? 
डेलिभरीको क्रममा धरै रक्तस्राव हुने भएमा, बच्चा गलत ठाउँमा बसेमा साथै कुनै क्यान्सर भएमा मुत्यु हुने गर्दछ । तर प्रायः सबैको यस्ता कुनै सानो समस्याले भने मुत्यु भई हाल्छ भन्ने हुँदैन । 

पाठेघर रोगबाट कसरी बच्न सकिन्छ ? 
पौष्टिक खाना खाने, कसरत गर्ने, कुनै पनि औषधी प्रयोग गर्दा डाक्टरको परामर्श लिनु पर्दछ । अवाञ्छित गर्भपतनबाट बच्नुपर्छ । कतिपय महिलाले शिशुको अवस्था थाहा नपाई सिधै गर्भपतन गर्छन् । यसले महिलाको स्वास्थ्यमा गम्भीर असर त पर्छ नै रक्तस्रावको समस्याले सबैभन्दा बढी सताउने गर्छ । वर्षमा एक पटक अनिवार्य रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । कुनै पनि रोगको लक्षण नदेखिँदै स्वास्थ्य जाँच गराएमा सम्भावित खतराबाट बच्न सकिन्छ । पाठेघरको क्यान्सरबाट निकै मानिस अर्थात् रोगको लक्षण नदेखिँदै यस्तो जाँच गराउँदा राम्रो हुन्छ ।  यसले पाठेघरको क्यान्सरको समस्या अत्यधिक हुन्छ । यसबाट बच्नका लागि एचपीवि भाइरसको खोप अनिवार्य लगाउँदा निकै लाभदायक हुन्छ । यस्तो खोप नौ वर्षको उमेरपछि जहिले पनि यस्तो खोप लिन सकिन्छ । यस्तो खोप छ  महिनाको अवधिमा तीन पटक लिनुपर्छ । सकेसम्म शारीरिक  सम्बन्ध हुनु अघि नै यस्तो खोप लिएमा राम्रो हुन्छ ।

अन्त्यमा हाम्रा पाठकहरूलाई के भन्न चाहनु हुन्छ ? 
पाठेघरको समस्यालाई सानो रूपमा हेर्नु हुँदैन । पाठेघरमा धेरै समस्याहरू हुने गर्दछ त्यो केवल उपचार पद्धतिबाट मात्र सम्भव रहेको हुन्छ । त्यसैले आफ्नो समस्यालाई लुकाएर दवाएर कसैलाई भन्न हिचकिचाउने गर्दा त्यसले ठुलो स्वरूप लिई धन जनको  मात्र नभई व्यक्तिको मुत्यु समेत हुने भएकाले सानो लक्षण देख्न साथ उपचार गर्नु पर्दछ । पाठेघरमा समस्या छ भन्दैमा जता पायो त्यतैबाट औषधी लिएर  प्रयोग नगर्नुहोला त्यसकालागि स्त्री रोग विशेषज्ञको परामर्शबाट मात्र औषधी सेवन गर्न मेरो विनम्र अनुरोध छ । 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : ५२ बजे