मेलम्ची नदीको पानी पुन : पथान्तरण

मेलम्ची । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । 

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।  गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । 

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।  
 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : १२ बजे