लोकनारायण सुवेदी
हालैका दिनहरूमा भारतका कतिपय टिप्पणीकारहरूले सञ्चार माध्यमहरूमा निरन्तरजसो लेखहरू प्रकाशित गरेर के विचार प्रवाह गरिरहेको पाइन्छ भने आज विश्वमा चीन र अमेरिकाबीच जुन भीषण प्रतिस्पर्धा भइरहेको छ, त्यो आधिपत्यका लागि हो । चीनको लक्ष अमेरिकालाई प्रतिस्थापित गरेर विश्व आधिपत्यमा विजय हासिल गर्नु हो । यस स्थितिमा भारतले स्वयं आफ्ना हितहरूलाई हेरेर चीन–अमेरिका बीचको यो सङ्घर्षलाई आफ्नो पक्षमा उपयोग गर्नुपर्दछ र यसका निम्ति चीनलाई दबाउन लागेका पश्चिमा शक्तिहरूका पक्षमा भारत खडा हुनु पर्दछ । यस्ता एक—दुई टिप्पणीहरू मात्र होइन, भारतका कतिपय सञ्चार माध्यमहरूले त आजभोलि निरन्तर यस्ता प्रचारहरू गरिरहेका पाइन्छन् ।
यहाँ के कुरा राम्रोसँग बुझ्न आवश्यक लाग्छ भने कसैले पनि आजको वास्तविकताका आधारमा विना पूर्वाग्रह निष्पक्ष किसिमले विश्वलाई हेर्न देख्न सक्तैन र हेर्दैन भने अन्ततः त्यसबाट गलत निष्कर्ष नै निस्कन्छ । कुनै बेला भारत यस्तो एउटा देश थियो, जो स्वयं उपनिवेशवाद र साम्राज्यवादद्वारा अत्यधिक प्रताडित र उत्पीडित बनेको थियो ।
त्यसबाट स्वतन्त्र भएपछि भारतले प्रष्ट रूपमा पश्चिमा शक्तिहरूबाट आफूलाई टाढै राखेको थियो । स्वाधीनता पछिका पहिला भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु स्वयंले असंलग्न आन्दोलनको नेतृत्व गरेका थिए र विश्वका विकासशील देशहरूको सम्मान पनि पाएका थिए ।
यद्यपि, उनको पनि नेपाल प्रतिको दृष्टिकोण भने ब्रिटिशकालीन भारतकै जस्तो थियो । बितेको ७० वर्ष यताको भारतको इतिहासको समीक्षा गर्ने हो भने भारत अमेरिकाले नेतृत्व गरेको पश्चिमा शक्तिको प्रायः कहिल्यै पनि सहयोगी रहेको देखिँदैन । भारतको आर्थिक विकासको स्तर, विशाल जनसङ्ख्या र अन्तर्राष्ट्रिय औद्योगिक शृङ्खलामा उसको स्थानले के निर्धारित गर्दछ भने भारतको हित मूलतः अमेरिका तथा पश्चिमा शक्तिहरूको साथमा रहेको छैन ।
अमेरिका लामो समयदेखि आफ्नो विश्व वर्चस्ववादी प्रणालीको एउटा पूरा सेट नै स्थापित गरेर चल्दै आएको देखिन्छ । उसले विश्वको दोहन, शोषण र शासन गर्नका लागि ‘डलर केन्द्रित विश्व वित्तीय र व्यापारिक प्रणाली’ मजाले उपयोग गरिरहेको छ । यसका अतिरिक्त आफ्नो सैन्य शक्तिको आधिपत्य कायम राखी राख्नका लागि विश्वभरबाट लुटेको सम्पत्तिको उपयोग गरिरहेको छ । यस स्थितिमा यदि कुनै देश अमेरिकाको स्वार्थका लागि थोरै पनि प्रतिकूल या खतरा देखियो भने अमेरिका त्यसलाई दबाउन आर्थिकदेखि लिएर सैनिक शक्तिसम्म हर सम्भव सबै उपाय गरेर त्यसका विरुद्ध जाइलाग्ने गरेका कयौँ उदाहरण विश्वभरि छ ।
यता पछिल्ला वर्षहरूमा चीनले गरेको आर्थिक तथा विज्ञान र प्रविधिको विकासले उसले अमेरिकाको विकास स्तरलाई छोइसकेको र कतिपय क्षेत्रमा उछिनी सकेको पनि छ । त्यसैले अमेरिकाले के मान्दछ भने चीनको द्रुत विकासले उसलाई धम्की दिएको छ । यसै कारण अमेरिकाले चीनलाई विश्वको सबैभन्दा ठुलो प्रतिद्वन्द्वी ठान्दछ । त्यसैले अमेरिका व्यापार, विज्ञान र प्रविधि सबै क्षेत्रमा चीनका विरुद्ध पेच कस्न जोडतोडले लागेको देखिँदै आएको छ ।
आफूलाई आफ्नै किसिमको समाजवादतिर लम्कँदै गरेको शान्तिप्रिय देश मान्ने चीनले ‘मानव जातिका साझा समुदाय’ को राजनीतिक सिद्धान्त पालना गरिरहेको दाबी गर्दछ । यस स्थितिमा चीनको विकासको लक्ष आफ्ना करोडौँ जनताको अर्थ–सामाजिक जीवनस्तर उकास्ने र देशलाई सुधारको उच्चतम दिशातिर अघि बढाउने रहेको छ । अतः चीन अरू कुनै पनि देशसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विकसित गर्न तल्लीन देखिन्छ । चिनियाँ विदेश नीतिको बितेको सात दशक यताको राजनीतिक अभ्यासको सारांश खिच्ने हो भने चिनियाँ समाज प्राचीन कालदेखि नै ‘सारा विश्वलाई एउटै परिवार’ ठान्ने मान्यता र सभ्यता भएको देश भनेर प्रष्ट भन्न सकिन्छ । यद्यपि, कतिपय क्षेत्रमा चीन निकै अगाडि पुगिसकेको भए पनि अझै पनि कतिपय क्षेत्रमा पश्चिमा जगतभन्दा पछि नै छ र मान्दछ पनि । त्यसैले चीन ती पछि परेका क्षेत्रहरूमा पनि अग्रता प्राप्त गर्न विकासको दिशामा तीव्र गतिका साथ चलिरहेको छ ।
आफूलाई आफ्नै किसिमको समाजवादतिर लम्कँदै गरेको शान्तिप्रिय देश मान्ने चीनले ‘मानव जातिका साझा समुदाय’ को राजनीतिक सिद्धान्त पालना गरिरहेको दाबी गर्दछ । यस स्थितिमा चीनको विकासको लक्ष आफ्ना करोडौँ जनताको अर्थ–सामाजिक जीवनस्तर उकास्ने र देशलाई सुधारको उच्चतम दिशातिर अघि बढाउने रहेको छ ।
यस परिप्रेक्षमा चीनले विश्वमा आधिपत्य जमाउनका लागि सङ्घर्षको लक्ष बनाउन चाहँदैन र यस्तो लक्ष लिएको पनि देखिँदैन । विभिन्न देशहरूको यात्रामा जाँदा पनि चीनका राष्ट्रपतिले ‘विश्वको साझा भाग्य’(शेयर फ्यूचर) कै कुरा गर्दै आएका छन् । त्यसैले पनि धेरैले के विश्वास गरिरहेका छन् भने हिजो साम्राज्यवाद र उपनिवेशवादको पीडाबाट आक्रान्त भएको भएको चीनले अरू देशमाथि त्यस्तै पीडा थप्ने बाटो समातेको छैन र समात्ने पनि छैन । उसको वर्चस्वको नीति छैन र कसैको हैकम स्विकार्न पनि चाहँदैन भन्ने नै चीनको वर्तमानमा देखिएको तस्बिर हो ।
उता अमेरिकाको विकास लक्ष भने प्रायः सबैजसो विश्व आधिपत्यलाई कायम राखिराख्ने रहेको देखिन्छ । त्यसका लागि अमेरिकाले आफ्नो सैन्य शक्ति तथा विज्ञान प्रविधिको शक्तिलाई उच्च र सर्वोपरि प्राथमिकता दिएर संसारको पहिलो महाशक्तिको दर्जा लिइरहन चाहन्छ । त्यसैले, अमेरिकाको आर्थिक तथा व्यापारिक नीति अरू देशलाई नोक्सान पुर्याउने खालको नै उसले तर्जुमा गर्ने गर्दै आएको छ । तर माथि नै उल्लेख गरियो कि चीनको विकास लक्ष ‘सारा संसार, एक परिवार’ अर्थात् विश्वको साझा भविष्यको रूपमा रहेको छ । त्यसैले चीन आफ्ना प्राचीन सभ्यताका मूल्य परम्परालाई विकासको माध्यमबाट महसुस गर्न चाहन्छ, अरू देशमाथि आक्रमण, कब्जा गर्न र शासन गर्न होइन भन्ने प्रष्ट अनुभूत गर्न सकिन्छ ।
यस प्रकार अमेरिकी मूल्य र चिनियाँ मूल्यमा ठुलो भिन्नता छ । अमेरिकाले निरन्तर अरू देशहरूमाथि आक्रमण गर्ने तथा उत्पीडन र दमन गर्ने अनि यसरी आफ्ना आर्थिक हितहरूलाई हासिल गर्न अन्य देशहरूलाई शक्तिको बलमा हस्तक्षेप गर्ने काम गर्दै आएको देखिन्छ । चीनको भने यस्तो परम्परा रहेको छैन । आफ्नो आत्मरक्षा बाहेक उसले युद्ध गर्ने कुनै पहल गर्ने गरेको छैन । यस सम्बन्धमा चीनको प्रस्ताव के रहेको छ भने ‘मानव जातिको साझा भविष्य’को निर्माण गर्नाले नै विश्वका सम्पूर्ण मानव समुदायलाई लाभ पुग्दछ । यसरी चीन र अमेरिका दुई फरक फरक सभ्यताको प्रतिनिधित्व गर्दछन् । चीनले पूर्वी सभ्यता र सामाजिक प्रणालीको प्रतिनिधित्व गर्दछ भने अमेरिकाले पश्चिमा सभ्यताको ।
चीन–अमेरिका प्रतिस्पर्धाले वास्तवमा विश्वमा दुई सभ्यताका बीचको अन्तरलाई दर्साउँदछ । चीन र अमेरिकाका बीचको विवाद विश्वमा आधिपत्य जमाउने र जमाउन नदिने बीचको सङ्घर्ष हो । यस हिसाबले यो विवाद दुई देशद्वारा प्रतिनिधित्व गरिने भिन्न सभ्यता–आक्रमण गर्ने र नगर्ने बीचको टक्कर हो भन्ने देखिएको छ ।
हालैका वर्षहरूमा चीनले चीनका नागरिकहरूको जीवन स्तरमा सुधार ल्याउन र माथि उठाउनका लागि उच्च प्रविधिको अनुसन्धान र विकास, उद्योग, कृषि, शिक्षा तथा पर्यावरण संरक्षण आदि महत्त्वपूर्ण क्षेत्रमा आफ्नो लगानीमा लगातार वृद्धि गरेको छ । चीनको विकास मोडल आर्थिक तथा व्यापारिक आदान–प्रदानको माध्यमबाट विश्वका अन्य देशका सामु पनि प्रष्ट देखिन थालेको छ । चीनको यो राष्ट्रिय शक्तिको वृद्धिबाट अन्तर्राष्ट्रिय नियम—कानुनहरू, व्यवस्थाहरू र केही हदसम्म बोल्ने अधिकारमा समेत अमेरिकी प्रभुत्वलाई तोडिदिएको छ । तर, यी सबै कुरा एउटा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माणका लागि हुन्, जुन विश्वका सार्वभौमिकताको हित अनुरूप हुनु पर्नेछ ।
अमेरिका तथा अन्य पश्चिमा देशहरू र भारत जस्ता विकासशील देशहरूले यस प्रणालीको सँगसँगै विकास गर्न सक्नेछन् । चीनको सफलताले अरू विकासशील देशहरूलाई नयाँ विकास मोडल तथा अधिक बजारको अवसर उपलब्ध गराएको या त्यसो गर्न तयार गरिरहेको छ । नयाँ उदाउँदो देशका रूपमा भारतका लागि पनि यो निकै गहिरो गरी विचार गर्नुपर्ने कुरा छ । उसले अमेरिकी आधिपत्य स्वीकार गरेर शासित हुने पुरानो आदेशमा चल्नुपर्ने हो कि चीनसँग मिलेर साझा भविष्यको विश्व बनाउने काम गर्नु पर्ने हो ?
प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार १० : ०१ बजे
प्रतिक्रिया