कांग्रेस–माओवादीको झगडा : भरतपुरमा गठबन्धन बैठक स्थगित

काठमाडौं । सत्ता गठबन्धनले भागवन्डा गरी स्थानीय तहको निर्वाचनमा जाने निर्णयसँगै मोडालिटी तयार पार्न बसेको बैठकमा कांग्रेस र माओवादीको झगडा परेको छ।

खासगरी भरतपुर महानगरपालिकाको विषयमा दुई पार्टीबीच विवाद उत्पन्न भएको हो। कांग्रेसले यस पटक भरतपुर महानगरपालिका आफूलाई राखेर माओवादीलाई अन्य लिनका लागि दबाब दिएको स्रोतले बताएको  छ।

६ महानगरमा कांग्रेसलाई तीन वटा दिन गठबन्धनका अन्य दल तयार छन्। तर, कांग्रेसले चार महानगरमा दाबी गरेको छ। ललितपुर, पोखरा, बिराटनगर र भरतपुरमा कांग्रेसको दाबी छ। उसले काठमाडौं महानगरपालिका माओवादीलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने प्रस्ताव अघि सारेको छ।

तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि महानगरमा दाबी गरेको थियो। कांग्रेस माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई महानगरपालिकाको उम्मेदवार दिन इच्छुक छैन।

उता माओवादीले भने भरतपुर महानगरको दाबी राखेको छ। तर, कांग्रेसले चितवन जिल्ला समितिले निर्णय गरीसकेको अवस्थामा दिन नसकिने अडान कायम राख्यो। एक नेता भन्छन्,‘कुरो भरतपुर महानगरपालिका र भागवन्डामा नै अड्किएको छ।’

सत्ता गठबन्धनभित्र ६ महानगर, ११ उपमहानगर, नगर र स्थानीय तहको भागबन्डाको विषयमा विवाद जारी छ। खासगरी महानगरका विषयमा सबै दलहरु आ–आफ्नै अडानमा छन्। सोमबार गठबन्धनको बैठकमा सहमति नहुँदा मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४६ बजे