चुनावपछि केपी ओली एकल बहुमतको प्रधानमन्त्री : विष्णु पौडेल

 बझाङ / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

जिल्ला कमिटी बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गर्नु भएको हो । उपाध्यक्षे पौडेल अहिलेको सरकार परमादेशबाट सञ्चालित भए पनि आगामी चुनावमा जनादेशबाट पुनर्स्थापना गरिने बताउनु भयो ।

उहाँले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताउनुभयो। उहाँले भन्नु भयो, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।

’ अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्ला कोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उहाँले स्मरण गर्नुभयो । ‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्षे पौडेलको भनाई थियो । अहिले चैनपुर ताक्ला कोट सडक अवरुद्ध भएको भन्दै उहाँले एमाले सरकार आएपिछे यसलाई पुनः सुचारु गर्ने बताउनु भयो ।

उहाँले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने बताउनुभयो । ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भन्नु भयो । उहाँले भन्नु भयो, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छ ? उनीहरू भन्नेछन्– छैन ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ३४ बजे