बन्दीपुर मिनी ग्रेटवालको चौध सय मिटर कार्य पूरा

तनहुँ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका– २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । 

चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । 

हालै रु पाँच करोडको बोलपत्र परेको छ । उहाँले भन्नुभयो, “आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना रहेको  छ ।” ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामकरण गरी थालिएको पदमार्गको चौडाइ चार मिटर र पर्खालको उचाइ दुई फिट रहेको छ ।

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताउनुभयो । पछिल्लो समय बाह्य पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएको छ । 

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको जनाइएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट सजिलै देख्न सकिन्छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : २४ बजे