झण्डै दुई वर्षपछि पदमार्गमा पर्यटक आगमन बढ्दै

लमजुङ / कोरोना भाइरस र बाढी पहिरोको वितण्डामा ढप्प भएको लमजुङको  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएको छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटक केही समययता बढ्दै गएको हो ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएको छ। मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनु भयाे ।

पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउनु हुन्छ  ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख  गौतमले बताउनु भयाे । बेंसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुगिन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : २८ बजे