कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ। आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ ।

वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । 

गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहनुभएको छ । 

 कृषि गणनाका लागि  छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण सङ्कलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ ।गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताउनुभयो । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा तथ्याङ्कले सहयोग पु¥याउनेछ  । विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौँ कृषि गणना रहेको हो । रासस 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ३५ बजे