‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तनहुँका पाँच पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने

तनहुँ । तनहुँमा निर्माणधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

बाँकी रहेका आठ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले जनाएको छ ।  

शालिकराम करिडर अन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङगाउँपालिका–५ लुक्दी खोला पुल, घिरिङ गाउँपालिका–४को तिरमदी खोला पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

त्यसैगरी घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलामा निर्माणधीन अवस्थामा रहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । बोलपत्र भएका आठ वटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसैवर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले जानकारी दिनुभयो ।  

पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँमार्फत निर्माणधीन अवस्थामा रहेका पाँच वटा सडकको म्याद थप गरी निर्माणकार्य अघि बढाइएको उहाँले बताउनुभयो ।  
कोरोनाका कारण पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदा समयअवधिभित्र सम्पन्न गर्न नसकेका सडकको म्याद थप गरिएको हो । 

आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको कार्यालयका ‘साइट इन्चार्ज’ होमनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको दुलेगौँडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर– डेढगाउँ मोटर मार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थप गर्न लागि मन्त्रालयमा पठाइएको छ । 

त्यसैगरी दासढुङ्गा– देउपुर सडक आगामी असारसम्म म्याद थपको लागि प्रक्रियामा राखिएको सो कार्यालयले जनाएको छ ।  जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुदैँ केलादीघाट कालीगण्डकी नदीको तिरैतिर स्याङ्जा, पाल्पा जोड्ने गरी शालिकराम करिडरको तीव्रगतिमा काम भइरहेको छ । 

करिब ६८ किलोमिटर सडकमध्ये  दासढुङ्गा– देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर घिमिरेले बताउनुभयो ।  
 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ४० बजे