तीनजना पूर्वअर्थमन्त्रीको नजरमा कस्तो छ देशको अर्थतन्त्र ?

काठमाडौं । तीन जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संटकग्रस्त अवस्थामा पुगेको बताउनुभएको छ ।  पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुक इतिहासकै गम्भीर आर्थिक संकटमा पुगेको बताउनुभएको हो । 

एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उहाँहरूले यस्तो बताउनुभएको हो ।  उहाँहरूले अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै यसलाई बचाउने जिम्मेवारी सबैको भएको बताउनुभयो । 

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेले सरकार छोड्दा अर्थतन्त्र सवल र सुदृढ अवस्थामा रहेको बताउनभयो । ‘केपी ओली नेतृत्वको सरकारको कार्यकाल कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुनुपर्ने थियो,’ उहाँले भन्नुभयो, ‘स्वाभाविक रूपमा दुनियाँका शक्तिशाली अर्थतन्त्रलाई पनि चुनौती दिइरहेको थियो । हामीले पनि त्यो चुनौतीको सामना गर्नुपरेको थियो ।’ 

कोभिड महामारीको सामना गर्दागर्दै पनि ओली नेतृतवको सरकारले अर्थतन्त्रका परिसूचकहरूलाई बिग्रन नदिएर तुलनात्मक रूपमा सवल र सुदृढ अर्थतन्त्रको आधार निर्माण गर्न सकेको उहाँको भनाइ छ । 

पौडेलले वर्तमान सरकारका कारण अर्थतन्त्र इतिहासकै गम्भीर मोडमा पुगेको बताउनुभयो । ‘यो सरकारले सहि नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुकलाई श्रीलंका बनाउने अवस्थामा पुगिसक्यो,’ पौडेलले भन्नुभयो ।

मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको उहाँको भनाइ छ । पाँच दलीय गठबन्धनको सरकारले ध्वस्त पारेको अर्थतन्त्र बचाउन अब हस्तक्षेप गर्ने बेला आएको बताउनुभयो । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने उहाँको भनाइ थियो ।  

अघिल्लो सरकारले बजार महंगी ४ प्रतिशतभन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उहाँले बताउनुभयो ।  

कोभिड–१९ का बाबजुद पनि आफ्नो सरकारले झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सफल भएको उहाँको भनाइ थियो । लगानीको वातावरण बनाएको र बैंकिङ ब्याजदर एकल अंकमा राखेको उहाँले बताउनुभयो ।  तर, वर्तमान सरकारले यसलाई समेत ध्वस्त पारेर मुलुकको आर्थिक अवस्था इतिहासमा नै पहिलो पटक कमजोर बनाएको उहाँको टिप्पडि थियो । 

वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको बताए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको बताए । त्यस्तै रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरूको संख्या २५६।९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको बताए । यसरी रेमिट्यान्स घट्नु शंकाको विषय बनेको बताए ।  

त्यस्तै अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले त वर्तमान अर्थमन्त्री भाग्न सक्ने बताउनुभयो। देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै उहाँले अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा भाग्न सक्ने बताउनुभएको हो ।  ‘श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दैछु । कतै यो दिन नआओस् नेपालमा,’ पाण्डेले भन्नुभयो  । 

अर्थमन्त्री शर्माले कानुनविपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताउनुभयो। अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गर्भनरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताउनुभयो  ।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उहाँले भन्नुभयो।

मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको उहाँले बताउनुभयो ।  बढ्दो आयात, चालु खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको हाँले बताउनुभयो ।  तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको उहाँले बताउनुभयो ।   

३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेकेदारले नै ५० अर्बभन्दा रूपैयाँ माग गरेको बताए । उहाँले देशको अर्थतन्त्र एकदमै संकटग्रस्त अवस्थामा पुगेको भन्दै यो बचाउनतिर सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा परेको बताउनुभयो । अहिले आर्थिक वृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उहाँको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भन्नुभयो । 

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उहाँको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उहाँको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भन्नुभयो । 

सरकारकै कारण बैंकमा लगानीयोग्य पैसा नभएको उहाँले बताउनुभयो  बैंकमा लगानीयोग्य पैसा नहुनुको कारण सरकारको गैरकानुनी गतिविधि र गलत क्रियाकलाप रहेको उहाँले बताउनुभयो ।  

‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन् । उनीहरू ठेक्कापट्टाको सेटिङमा लागेका छन् । मन्त्रीहरूले निर्वाचनका लागि खर्च चाहियो भनेर खुलमखुला हिँडिरहेका छन्,’ डा. खतिवडाले भन्नुभयो । , ‘खाद्य वस्तुको असाध्यै धेरै मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर भएको छ । चालु खर्च ८ प्रतिशतले बढ्ने देखिएको छ । यो अन्तर्राष्ट्रिय रूपमै अर्थतन्त्रमाथि खतराको घण्टी हो । त्यही खतराको संकेत हामीले गरिरहेका छौँ ।’

उहाँले सरकार नै सम्पत्ति शुद्धीकरणमा लागेका कारण बैकिङ प्रणालीबाट पैसा अन्त्यै गएको बताउनुभयो ।   
 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ०२ बजे