एमाले केन्द्रीय सल्लाकार गुरागाईँलाई खुकुरी प्रहार 

धनकुटा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ ।७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गुरागाईँ गम्भीर घाइते हुनुभएको छ । 

धनकुटा नगरपालिका वडा नं ६ आत्मारा निवासी आफ्नै  छिमेकी  पोखरेलले परिवारसँग गफ गरेर बसिरहेको अवस्थामा अचानक खुकुरी प्रहार गरेका हुन् । 

खुकुरी प्रहारबाट ७६ वर्षका  नेता गुरागाईँको दाहिने आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । घटना लगतै नेता गुरागाईँलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिए पनि थाहा उपचार हुन नसकेपछि  थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । 

गुरागाईँको दाहिने आँखामा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । उहाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएका गुरागाईँको दाहिने आँखाको माथिल्लो भागमा ८ वटा टाँका लागेको छोरा राजु गुरागाईँले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुरागाईँको टाउकोमा पनि गहिरो चोट लागेको छ । घटना पछि खुकुरी प्रहार गर्ने दिनेश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी अधिकारीले बताउनु भयो । पोखरेललाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।  पोखरेलको घरबाट खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो । जसले खुकुरी प्रहार गरेका छन्  ती मान्छेसँग कहिले पनि भेटघाट र कुराकानी नभएको गुरागाईँको परिवारले जानकारी दिनुभएको छ । 

कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताउनुभयाे । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पोखरेलले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले बताएकाे छ । 

गुरागाईंकाे परिवारले घटनाबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । जिल्लाकै अग्रज वामपन्थी नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन सांसद बन्नेनुभएकाे थियाे ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : ०८ बजे