एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ । 

शनिवार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटीको बैठकले आफूलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताउनुभयो । उहाँका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने दुई जनाले दाबी परेको छ । 

पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दाबी प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो । “यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटीमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ”, उहाँले भन्नुभयो ।

व्यञ्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुनुहुन्छ । 

गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहनुभएका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अङ्कको झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ०८ बजे