चैतेदसैँको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

गलकोट। आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
 
कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैतेदसँै सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैतेदसैँको मुख्य दिनमा बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । 

चैतेदसैँ“  सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो “गण्डकी प्रदेशमा चैतेदसँैको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिँदै आएको छ, पछिल्लो समय भइरहेको प्रचारप्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।”

चैतेदसैँका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला  यही चैत २८ गतेसम्म चल्नेछ । चैतेदसैँका अवसरमा कालिका मन्दिर परिसर दुलहीझैँ सिगारिएको छ । रासस

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : २६ बजे