अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे : अध्यक्ष ओली

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताउनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले अनुहार भरी रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताउनुभयो । शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको र अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले निलम्बन गरेर बलि को बोको बनाउने काम गरेको बताउनुभयो ।

ओलीले गर्भनर निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको प्रति पनि आपत्ति जनाउनुभयो । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको बताउनुभयो । उहाँले क्रान्तिकारी हुँ भन्नेहरूले आफू र आफन्तबाहेक अरूलाई नहेर्ने गरेर चरम नातावाद देखाएको बताउनुभयो ।

‘राजनीतिक प्रतिस्पर्धा भइरहेको छ । तर प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अवस्था हिजोमात्रै पनि हामीले देख्यौँ । हिजो थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो ।’ ओलीले थप्नुभयो, ‘तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि । त्यसमा पनि अनुहार भरी रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। ध्वस्त पार्‍यो देशको अर्थतन्त्र ।

अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाहीगर्‍यो। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ । हिजो एउटा बर्खास्त ग¥यो । देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाइयो–बलिको बोको । उनलाई निलम्बन गरियो हिजो ।’ ओलीले थप्नुभयो, ‘माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनायो ।

माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्न । अर्को एउटा नियुक्ति पनि भयो । नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा । नातावाद भो, कृपावाद हो । अचाक्ली भो । क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेक कोही नियुक्ति गर्दैनन् भन्ने छँदै थियो । हिजो पुष्पकमल दाहालका भाइ नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रियसभामा लगियो । यत्रो बिघ्न घाइते छन् । सहिदका परिवार छन् । यत्रो विध्न आन्दोलन गरेका मान्छेहरू छन्, दुःख पाएका मान्छेहरू छन् । अपाङ्गता भएको व्यक्तिहरू छन् । शरीरमा गोली लिएर हिँडीरहेका व्यक्तिहरू छन् ।

जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरू छन् । ती सबै मान्छेहरूलाई पन्छाएर, तीनलाई छाडेर, तीनलाई अनादर र उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरी भयो ।’ ओलीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरूसँग परामर्श नगरी जारी गरेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘२०४८ सालदेखि हामी लगातार निर्वाचन लडिराखेका छौँ । राजनीतिक दलहरूसँग परामर्श नगरीकन सत्तापक्षीय दलहरु र सरकारसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलो पल्ट नेपालमा जारी भयो । जो सबैले मान्नुपर्छ ।

तर सल्लाहचाँही सत्तापक्षसँग मात्रै हुन्छ । अरुसँग सल्लाह भएन । हामीसँग सल्लाह भएन । हाम्रो प्रतिनिधिलाई निर्वाचन आयोगले तपाईँहरूले पढ्न पनि दिनु भएन, बोल्न पनि दिनु भएन । अनि कसरी सही गर्ने यो ठिक छ भनेर भन्दा आयोगले तपाईँहरूले सही गर्ने गर्नुस् नगरे नगर्नुस् केही छैन । मन लागे गर्नुस् नलागे नगर्नुस् हामी अगाडि बढछौं । जसले मान्दैन उसलाई कारबाही गर्छौ भनेर निर्वाचन आयोग, जसले अनुरोध गर्थ्यो ।

कानुन बमोजिम कारबाही गरे भैगो । तर जारी गर्दा खेरी नै उसले कारबाहीको डण्डा देखाएर जारी पार्‍यो।’ अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ३९ बजे