राष्ट्रियसभामा नारायण दाहाल नियुक्त हुनु नातावादको पराकाष्ठा : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले  प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभामा नियुक्त गरेको विषय नातावाद कृपावादको पराकाष्ठा भएको बताउनुभयो । 

“पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।”, उहाँले भन्नुभयो ।

उहाँले देशमा भएका सङ्घर्षमा आन्दोलन गरेका, दुःख पाएकाहरूलाई छाडेर परिवारवादमा चुर्लुम्म डुब्नु दुखद भएको बताउनुभयो ।  

माओवादीले सञ्चालन गरेको जनयुद्धलाई उदाहरण दिनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरू छन् । शरीरमा गोली लागेर हिँडिरहेका व्यक्तिहरू छन् । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका व्यक्तिहरू छन् । यी सबै व्यक्तिहरूलाई छोडेर अनादर गरेर, उपेक्षा गरेर आफ्नै भाइलाई राष्ट्रिय सभा सदस्य बनाउने बोक्ने !”

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : २३ बजे