सशस्त्र प्रहरीका आइजिपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !

काठमाडौँ । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुनुहुन्छ । 

एकै जिल्लाका उहाँहरू दुई जनामध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) हुनुहुनेछ । आइतबार आइजिपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।

सोही दिन सरकारले आइजिपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आइजिपीको लाइनमा रहेका दुई एआईजी र आइजिपी खनाल एकै ब्याजी हुनुहुन्छ ।

एकै पटक उहाँहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा जानुभएको थियो  । सशस्त्र प्रहरी सङ्गठनमा डीएसपीबाट प्रवेश गर्नुभएका खनाल आइजिपीको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बन्नुभएको हो ।

उहाँहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते हुनुभएको थियो । उहाँहरू ठिक ३० वर्षपछि आइजिपीको प्रतिस्पर्धीमा होमिनुभएको छ । 

२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मङ्सिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डिआइजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुनुभएको हो । 

हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख हुनहुन्छ। अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख हुनुहुन्छ । 

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : २६ बजे