साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भन्देउ साथी वाम सरकार को हो गिराउने ?

केपी ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार चलाउन दिएको जनादेशलाई गिराउन नेकपा कालमा के पी ओलीमाथि जुन जुन आरोप लगाएर वितण्डा मच्चाइयो र सरकारले गरेका विकास, पुनर्निर्माण र निर्माणका पक्षमा; पारवहन क्रान्ति र चुच्चे नक्सामा कायम गरेको अभूतपूर्व राष्ट्रिय सहमतिका विरुद्ध कुण्ठा, डाहा र पालैपालो सत्ता प्राप्तिको लालसामा आफ्नै सरकारमाथि बन्चरो चलाइयो तिनीहरूले गोब्रयाएको सत्ताको दुर्गन्धका कारण आज मुलुक नाकै फुट्ने गरी गनाइरहेको छ र राष्ट्र असफल पथतर्फ लम्कँदो छ ।

जसले के पी ओलीमाथि दुई तिहाइको वाम सरकार गिराएको आरोप लगाउने गर्छन् र ती महाशयहरू नै दुई तिहाइको सरकार आफूले गिराएको जघन्य अपराधको अन्तिम लाजको पोकोलाई प्रतिगमन नामक हत्केलाको टालोले ढाक्न नसकेको निर्लज्ज अवस्था आज छ ।

दुई तिहाइको सरकार विघटनका शिखण्डी र धुन्धुकारीहरूलाई पहिचान गर्न, तिनको खोजी गर्न र तिनलाई जनसमक्ष नङ्ग्याउन जरुरी छ ।

प्रस्तुत छ: यसै सन्दर्भमा तयार पारिएको यो गीत :

सूर्य छाप भोट लुटी अन्तै बुझाउने ?
भन्द्यौ साथी वाम सरकार को हो गिराउने ?

चुनावमा पार्टीलाई तिर्की जुटमा झार्ने !
पन्ध्र वर्ष पार्टी हाँक्दा लिलिपुट पार्ने !
युद्धकालमा आतङ्कीले कार्यकर्ता मार्दा !
चुँक्क बोल्न नसकेर थुर्रथुर्र काम्ने  !

सूर्यका भोट रूखको टोड्काभित्र छिराउने ?
भन्द्यौ साथी वाम सरकार को हो गिराउने ?

पन्ध्र वर्ष मोज गरी आसेपासे पोस्ने !
हारेपछि मुर्मुरिँदै गुम्सिएर बस्ने !
डाडुपन्यु नपाएर घरमै आगो झोस्ने !
डेरावालको पुच्छर समाई घरै ध्वंश गर्ने !

को हो घाती नेकपाको सरकार ढलाउने !
भन्देउ साथी वाम सरकार को हो गिराउने ?

ओलीलाई बालकोट खेद्यौँ भन्दै रमाउने
गुहार मागी स्याँस्याँ गर्दै त्यतैतिर धाउने
नेकपालाई कब्जा गर्न फणा उठाउने
धुन्धुकारी लौ न हजुर ! कल्ले चिनाउने ?

जैलेसुकै वितण्डा र ध्वंश मचाउने
भन्देउ साथी वाम सरकार को हो गिराउने ?

एक व्यक्ति एक पदको विधि जप्ने को हो ?
ज्वाइँ राजदूत भाइ सांसद थुक्क विधि यै हो ?
अध्यादेशको विरोध गर्दै ववन्डर मच्चाउने ?
कुहि गन्धे अध्यादेश आज आफै ल्याउने !

परमादेश पाउँ भन्दै बिन्ती बिसाउने
को हो घाती चिनौँ वाम सरकार गिराउने !

ओलीमाथि दल विभाजनको आरोप लगाउने ?
भ्रष्टाचारी भन्दै आफ्नो सरकार डढाउने ?
लोकतन्त्रका डसनामा दिसा पिसाब फेर्ने !
गणतन्त्रका मुहारमा एसिड मात्रै छ्याप्ने !

कम्फर्टेबल कम्फर्टेबल भन्दै कराउने !
खुराफाती को हो वाम सरकार गिराउने ?

जनादेशलाई प्रतिगमन भन्दै डाँको छाड्ने
परमादेश लौरो टेकी सत्ता भर्‍याङ चढ्ने
बाँडिचुडी देशै लुट्ने जनतालाई भुट्ने
मुलुकलाई विघटनको भिरमा घचेट्ने ?

लोकतन्त्रका स्याल भाकामा हुइय्य कराउने
भन्देउ साथी वाम सर्कार को हो गिराउने ?

(डा.शर्मा राष्ट्रिय भाषा तथा लोक साहित्य सङ्घका अध्यक्ष तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका सचिवालय सदस्य हुनुहुन्छ )

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : २८ बजे