सोलुखुम्बु । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् ।
दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् ।
आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।
यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्याङ प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो ।
दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधार शिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमा पूजा र शक्ति माग्ने प्रचलन रहेको छ ।
खुम्बुमा बाह्य पर्यटकको चहलपहल
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ ।
वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।
अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडेलले बताउनुभयो ।
लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । एक दिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उहाँको भनाइ थियो ।
अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ७ : १० बजे
प्रतिक्रिया