चौबाटार सिँचाइ योजना सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।  

सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गर्नुभयो । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा  कृषि कर्ममा लाग्न आग्रह गर्नुभयो । उहाँले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रु आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताउनुभयो । विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि  ३६ वर्षपछि माग पूरा भएको छ ।  

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : २४ बजे