धरापमा गठबन्धन : लुम्बिनीमा समाजवादी ‘टाइँ टाइँ फिस’

बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ ।

कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी काँग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ ।

गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेवास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठ वटा नेपाली काँग्रेस र चार वटा माओवादी केन्द्रले लिने सहमति भएको छ । 

गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । काँग्रेस सभापति खिलध्वज पन्थीले काँग्रेसले आठ र माओवादीले चार पालिका लिने सहमति भएको बताउनुभयो । 

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन । 

गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको सहमति पत्रमा नेपाली काँग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले हस्ताक्षर गर्नुभएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईँले आफ्नो दललाई बाइपास गर्न खोजिएको भन्दै त्यसो गरिए गठबन्धन धरापमा पर्ने चेतावनी दिनुभयो। “समाजवादीलाई हेप्न खोजिएको छ, यदि त्यसो भयो भने गठबन्धन नै धरापमा पर्न सक्छ” उहाँले भन्नुभयो।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : ५१ बजे