‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका घोषणा

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । 

नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो । 

सो अवसरमा उहाँले वीरेन्द्रनगरलाई पहिलो पटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताउनुभयो ।

“कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पुर्‍याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ ।”

कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डअनुसार लक्षित समुदायका नागरिकलाई पूर्ण खोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताउनुभयो । तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उहाँको भनाइ छ । 

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनस्वास्थ्यका हिसाबले हाम्रो यो ठुलो उपलब्धि हो, छुटेकालाई खोप लगाउने काम भइरहेको छ, शतप्रतिशत प्रगति हासिल गरिएकाले खोपयुक्त घोषणा गरेका हौँ ।”

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो । चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्ण खोप लगाइयो । यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो ।

जनस्वास्थ्य निरीक्षक गिरीले लक्षित जनसङ्ख्यालाई खोप लगाइसकेपछि सबै टोलमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकीको तथ्याङ्क सङ्कलन गरेको र छुटेकालाई बोलाएर खोप लगाइएको बताउनुभयो । 

वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ । कोभिड–१९ महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला सङ्क्रमित सङ्ख्याका आधारमा वीरेन्द्रनगर ‘रेडजोन’मा थियो । हाल वीरेन्द्रनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको बताइएको छ । रासस

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : ४२ बजे