काठमाडौँ । देशभरका १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोप सम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।
खोपका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयंसेवक परिचालन गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गर्नुभएको थियो । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।
नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।
पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।
प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ७ : ०७ बजे
प्रतिक्रिया