दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा नै रहन्छ : मन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा नै रहने बताउनुभएको छ  ।

उहाँले प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्ने हल्ला गलत र भ्रम मात्रै भएको भन्नुहुँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट नसर्ने बताउनुभयो ।

हेटौँडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न मन्त्री लामाले आग्रह गर्नुभयो । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै उहाँले प्रतिष्ठान हेटौँडाको गौरव भएकोले प्रतिष्ठान हेटौँडाबाट नसर्ने बताउनुभयो । 

प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र सङ्घीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उहाँले बताउनुभयो । 

“हेटौँडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको हो” उहाँले भन्नुभयो, “स्नातक तहका ३ विषयको कक्षा हेटौँडामा नै सञ्चालन भइरहेको छ ।”  

हेटौँडा अस्पताललाई बागमती प्रदेशकै नमुना अस्पताल बनाउने उहाँले दाबी गर्नुहुँदै उहाँले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गर्नुभयो ।

सरोकारवालाको मागअनुसार हेटौँडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उहाँको भनाइ छ । 

“प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको हो” उहाँले भन्नुभयो, “प्रतिष्ठान स्थापनाकाल देखि ३ वर्षसम्ममा देखिएका समस्यालाई पनि अहिले समाधानको काम भइरहेको छ ।”

छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, राप्रपा नेपाल मकवानपुरका गुरुप्रसाद सापकोटा लगायतको उपस्थिति थियो ।

त्यस्तै, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग्याए प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । 

उहाँले  हेटौँडामा बुधवार पत्रकार सम्मेलन गरी प्रतिष्ठानलाई हेटौँडा अस्पतालबाट अलग्याउने र भरतपुरमा सञ्चालन गर्ने प्रयत्न स्वरूप अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाउनुभएको हो । 

उक्त प्रतिष्ठान प्रदेश तथा मकवानपुरको गौरवको आयोजना रहेको भन्दै उहाँले आफू नेतृत्वको सरकारले स्थापना गरेको प्रतिष्ठानलाई कमजोर बनाउने र यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाउनुभएको छ । 

यो अध्यादेशमार्फत केवल राजनीतिक बेइमानी मात्र नभएर मकवानपुरे आम जनताप्रति अक्षम्य अपराध गरिएको उहाँको भनाइ छ । 

 

 

 

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ५८ बजे