‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अप्राकृतिक गठबन्धन : जनमतको नाउँमा ‘मजाक’ या दलीय व्यवस्थाकै ‘हुर्मत’

हिन्दीमा एक चर्चित भनाई छ ‘मरता क्या नहीँ कर्ता’ । हो नेपाली काग्रेंस,माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा यत्तिखेर यही हिन्दीको कहावतलाई चरितार्थ गर्दै अप्राकृतिक गठबन्धनमा छन् । 

भनिरहनु नपर्ला यी राजनीतिक दलको न त बिचार मिल्छ न त कुनै एजेन्डा नै । मिलेको एउटै कुरा छ त्यो हो एमालेलाई सत्तामा आउन नदिनु र आफ्नो सत्ता जोगाएर बाँडिचुँडी खानु । 

राजनीतिमा आफ्नो अस्तित्व झण्डै झण्डै समाप्त हुन लागेपछि यी दलहरू विचार, सिद्धान्त र मार्गदर्शनलाई मात्रै हैन बहुदलीय व्यवस्थालाई नै तिलाञ्जली दिँदै छन् ।  गठबन्धनका नाउँमा ‘टालाटुली बटुली कति राम्रो पुतली’ भनेझैँ दर्शनका हिसाबले पाँचतिर फर्किएका पार्टीहरू जोडेर उनीहरू राजनीतिको कोटाउले खेलमा मात्र व्यस्त छैनन् आफ्ना मतदातालाई आफ्नो दलको चुनाव चिन्ह नै थाहा नहुने अवस्थामा लैजान्न अग्रसर छन्  । पार्टीको नाउँ नेपाली काग्रेंस, सिद्धान्त लोकतन्त्र वा प्रजातन्त्र तर भोट केमा कम्युनिष्ट पार्टीको उम्मेदवारलाई त्यो पनि हसिंया हतौडामा । समग्र गठबन्धनकारीहरूको नियति यही हो । 

उता आफूलाई कम्युनिष्ट भनेर काग्रेंसलाई पश्चगामीको मतियार भन्दै सराप्ने माओवादी होस् या समाजवादीहरूको नियति पनि यस्तै यस्तै नै हो । पार्टी एउटा भोट अर्कोलाई यो भन्दा उदेक के होला । 

प्रष्टरुपमा बुझन् पर्छ फरक फरक राजनीतिक दृष्टिकोण बोकेका यी दलहरू यत्तिखेर आफ्ना नीति कार्यक्रम र पार्टीको मार्गदर्शनलाई रद्दीको टोकरीमा मिल्काउँदै छन् ।  सत्तादेखि चुनावी गठबन्धनमा यसरी अप्राकृतिक गठबन्धनमा उभिनु भनेको पाँच दलको रहर नभएर माध्यता हो, अझ जनादेश नपाएर सत्ता गुमाउनु पर्ने भय नै हो  ।  

जनताको जनमतबाट सत्तामा पुग्न नसकेपनि अदालतको परमादेशबाट सत्तामा बसिरहेका यी दलहरू आफ्नो सत्तारोणको यात्रालाई अझै लोभ्याउने चेष्टामा छन् । नचाहँदा नचाहँदै आइपरेको स्थानीय तहको चुनाव यी  दलहरूलाई यत्तिखेर ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ ९बाँदर को शिकार० झैँ बनिरहेको  छ । निर्वाचनमा जाँउ आवश्यक जनमत छैन, नजाऊँ जानै पर्ने बाध्यता । यही बाध्यताको हुटहुटीले यी दलहरू यत्तिखेर आफ्ना कार्यकर्ताहरूलाई विचार, सिद्धान्त र मार्गदर्शन हैन गठबन्धनको कोरा पाठ पढाइरहेका छन् । 

विचार सिद्धान्त र जनअपेक्षा विपरीतको यो गठबन्धनले  यत्तिखेर लोकतन्त्र, बहुलदिय व्यवस्थाको हुर्मत त लिइरहेकै छ अझ त्यो भन्दा पनि एक कदम अघि बढेर जनमतलाई नै मजाकको विषय बनाउँदै छ ।  

स्वतन्त्र विश्व कोश विकिपिडियाका अनुसार   ‘राजनीतिक दल हुनका लागि  आफ्नो सिद्धान्त वा लक्ष्य हुन आवश्यक छ ।’ प्रसिद्ध विद्वान् मेकाइभरको परिभाषामा ‘राजनीतिक दल त्यो समुदाय हो जसको सङ्गठन कुनै नीति वा सिद्धान्तको समर्थनका लागि सङ्गठित गरिएको हुन्छ । र, जसले संवैधानिक उपायहरूद्वारा ती सिद्धान्त वा नीतिहरूलाई शासनको आधार बनाउने प्रयत्नमा सदा संलग्न रहनुपर्छ ।’

अर्का विद्वान् एडमण्ड वर्कको दृष्टिकोणमा चाहिँ राजनीतिक दल केही व्यक्तिहरूको एउटा त्यस्तो समूह हो जसले कुनै सिद्धान्तउपर एकमत भई आफ्नो सामूहिक प्रलयद्वारा जनताको हितका लागि कार्य गर्न चाहन्छ ।

निश्चय पनि राजनीतिक दल हुनका लागि आफ्नो छुट्टै  विचार सिद्धान्त र नीतिको आवश्यक पर्दछ । पन्चमुखी गठबन्धनको यो अलाप  कि त विचार र सिद्धान्त एक भएको अवस्था हो या त जनमत समाप्त हुन लागेकाले मर्ता त्यो क्या निही कर्ताको नौंटकी नै हो । 

विडम्बना पूर्वक भन्नु पर्दछ आफ्नो विचारलाई तिलाञ्जली दिइरहेका यी दलहरू आफ्ना कार्यकर्ताहरू र मतदाताहरूलाई  नपुंसक बनाउँदै छन् । विचार र रोजाई एक ठाउँमा हुँदा हुँदै पनि अर्को दलमा मतदान गर्नु पर्ने बाध्यता र लोकतन्त्रको कुरूप प्रहसनमा यी संलग्न हुँदैछन् । 

आफ्ना शुभेच्छुक र सङ्गठित कार्यकर्ताहरूलाई गठबन्धनको विनाशकारी र असम्भव नीतिहरूको बाटोमा होभेर यी दलहरू अन्ततः राजनीतिक यन्त्र नै ध्वस्त गर्दैछन् । 

हो राजनीतिक दलहरूका आआफ्नै सिद्धान्त र दस्ताबेजहरू हुन्छन् फरक फरक सिद्धान्त र बाटो भएकै कारण दलहरु पनि विभिन्न नाउँमा अस्तित्वमा हुन्छन् । दलहरूको अस्तित्व भनेको जनमत नै हो । बहुदलीय प्रणालीमा दर्जनौँ राजनीतिक दलहरू चुनावी प्रक्रियामा समावेश भएका हुन्छन् तर धेरै कम दललाई मात्र चुनाव जित्ने र वास्तविक राजनीतिक सत्ता हात पार्ने अवसर प्राप्त हुन्छ । 

राजनीतिक दल त्यो बेला मात्र सफल हुन्छन् जसले जनभावना अनुसार शक्ति र सत्तामा रहेर जनताकै लागि काम गर्ने गर्दछन् ।  कुनै पनि राजनीतिक दलले जनभावना अनुसार काम गरेन भने त्यसलाई हटाउने क्षमता चुनावी प्रक्रिया मार्फत मात्र हुन्छ । त्यसको लागि आवधिक (नियमित) निर्वाचनको व्यवस्था हुन्छ । 

आवधिक निर्वाचनमा जान यत्ति साह्रो डराउनु भनेको यी राजनीतिक दलहरूको असफलता बाहेक अरू के हुन सक्छ ? विचार, सिद्धान्त र मार्गदर्शन मिल्नेहरूको एकता लोकतन्त्रको सुन्दर पक्ष हो । विचार, सिद्धान्त र लक्ष्य नै नमिल्नेहरू बीचको एकता वा गठबन्धन केबल स्वारर्थपुर्तीको साधन मात्र हो । जनमतको अपमान हो । जनमत लिने प्रक्रियाकै दुरुपयोग हो । मतदाताहरूले हराइदिन सक्ने भय हो, नेताबन्न लागेका कार्यकताप्रतिको धोकाधडी हो, विचार र निष्ठाप्रतिको विचलन हो, काँतर र लाचारीपन हो ।अझ जनमतको नाउँमा ‘मजाक’ हो ,र हो  दलीय व्यवस्थाकै ‘हुर्मत’।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : १६ बजे