गठबन्धन सरकार फतक्क कुहिएर आफैँ झर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार फतक्क कुहिएर मात्र झर्ने बताउनुभएको छ । वर्तमान सरकारलाई कुहिएको फर्सीसँग तुलना गर्दै ओलीले कुनै पनि रुखको फल झर्नलाई मज्जाले कुहिसक्नुपर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्र सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैँ झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ ।’ 

ओलीले वर्तमान सरकार ढाल्न एमालेले अहिले केही नगर्ने बताउनुभयो। एमालेले सरकारका बारेमा नभई चुनावमा ध्यान दिइरहेका ओलीले बताउनुभयो ।  ओलीले भन्नुभयो, ‘मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौँ । आफैँ झरोस् । आफैँ ढलोस् ।’

नेता ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकाङ्क्षा अनुरूप समृद्धि र विकास चाहेको बताउनुभयो । ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गर्नुभयो । यो सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बरबादीतिर धकेलिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : १५ बजे