कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । 

‘अप्रेसन बाली’ का क्रममा मङ्गलवार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो । 

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिसनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते हुनुभएको थियो । घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । 

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । 

शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दासमेत गरेको छ । रासस

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ०५ बजे