‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दलीय मूल्य–मान्यता अनुकूल देखिएन चुनावी गठबन्धन

स्थानीय निर्वाचन नजिकिँदो छ । भनिन्छ, निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । सौन्दर्य मात्र होइन, यसलाई लोकतन्त्रको मेरुदण्ड पनि मानिएको छ । निर्वाचन भनेको लोकतान्त्रिक व्यवस्थामा नागरिकको सहभागिताको माध्यम हो । लोकतन्त्रमा लोकका प्रतिनिधिहरूले राज्य सञ्चालनको नेतृत्व गर्ने गरिन्छ र नेतृत्व छान्न निर्वाचनमा मतदान गरिन्छ । 

लोकतन्त्र विचार, विधि र व्यवहार हो । यसमा सर्वोपरि विचार हो । लोकतान्त्रिक विचार रहेन भने लोकतन्त्र रहन सक्दैन । लोकतन्त्रको विचार भनेको कसैमाथि अन्याय नहुनु, अत्याचार र भेदभाव नगर्नु हो । नागरिकहरू नागरिक हुनुका कारण सबै समान छन् भन्ने विचार हो । 

लोकतन्त्र निषेध होइन । कसैलाई कुनै ढङ्गले निषेध गरिन्छ भने त्यो लोकतान्त्रिक विधि हुन सक्दैन । त्यसैले लोकतन्त्रको विचारलाई कार्यान्वयन गर्ने विधि पनि लोकतान्त्रिक नै हुनुपर्दछ । यदि विधि लोकतान्त्रिक भएन भने लोकतन्त्र कार्यान्वयन भएको हुँदैन । 

विधि कार्यान्वयन हुने भनेको व्यवहारमा हो । असंवैधानिक, गैर कानुनी होस् वा संविधान र कानुनको अपव्याख्या गरेर होस्, लोकतन्त्रको मर्ममाथि प्रहार गरिन्छ भने त्यस्तो व्यवहार लोकतान्त्रिक हुन सक्दैन । यस्तो कार्यले कसैलाई, कुनै राजनीतिक — सामाजिक शक्तिलाई  तत्काल पराजित गर्न र निषेध पनि गर्न सकिएला, तर यस्तो हुनुलाई लोकतान्त्रिक विचार, लोकतान्त्रिक विधि र लोकतान्त्रिक व्यवहार मान्न सकिँदैन । 

निर्वाचनले वास्तवमा लोकतान्त्रिक विचार, विधि र व्यवहार वहन गर्नुपर्दछ । तब मात्र लोकतन्त्रप्रति नागरिकको विश्वास बढ्दछ र सिङ्गो समाज लोकतान्त्रिक बन्न सक्दछ । लोकतान्त्रिक समाज बन्नु भनेको नै समाजवाद उन्मुख हुनु हो । हाम्रो संविधानले स्वयं संविधान र नेपाललाई समाजवाद उन्मुख भनेको छ । लोकतान्त्रिक प्रावधान र भावनाको प्रतिकूलका सबै काम लोकतन्त्र विरोधी हुनेछ । 

अहिले केही राजनीतिक दलहरूका बीचमा चुनावी गठबन्धनको चर्चा चलिरहेको छ । लोकतन्त्रमा दलहरू बीचको मेलजोल, सहकार्यलाई गलत भन्न मिल्दैन । तर, आधारभूत सिद्धान्त  मिल्नेहरूका बीचमा यस्तो हुँदै आएको पनि छ । खास गरी निर्वाचनपछि जय पराजय बिर्सेर सहकार्य गर्ने गठबन्धन स्वाभाविक र प्राकृतिक हुन्छ भने सिद्धान्त, दृष्टिकोण तथा विचार नमिल्नेहरू बीचको गठबन्धन अप्राकृतिक हुन्छ । यसले लोकतन्त्रमा विचार पक्ष कमजोर पार्दछ । यसो गर्नु भनेको अर्को कुनै सिद्धान्तनिष्ठ राजनीतिक शक्तिका विरुद्धको मोर्चाबन्दी र षड्यन्त्रपूर्ण र निहित स्वार्थी व्यवहार हुन्छ । 

गठबन्धनबाट हुने अर्को अलोकतान्त्रिक खतरा भनेको समावेशिताका लागि हुन्छ । निर्वाचनका लागि समावेशी सिद्धान्तमा आधारित विधिहरू निर्धारित छन् । जस्तै : पालिकाका प्रमुख उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने प्रावधान रहेकोमा दुई वा बढी दलहरूले सहमति गरेर चुनावमा गए भने फरक फरक दलले प्रमुख र उपप्रमुख उठाउने छन् र लैङ्गिक समावेशी हुने छैन । विगतमा यस्तो भएको देखाएको थियो । 

दलीय व्यवस्थामा दलका सिद्धान्त, दृष्टिकोण, नीतिमा आधारित घोषणापत्रका आधारमा जनताले सम्बन्धित दलका उम्मेदवारलाई छान्ने हो । गठबन्धन गर्दा मतदाताले यो अधिकार पाउने अवस्था रहँदैन वा व्यक्ति हेरेर मात्र मत दिने हुन सक्दछ । वर्षौँदेखि खास दल, सिद्धान्त र विचारको अभ्यासमा रहेका कार्यकर्ताहरूलाई अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपर्दा हुने पीडा त आफ्नो ठाउँमा छँदैछ, नयाँ मतदाताहरूमा यसको प्रभाव राम्रो पर्ने देखिँदैन । एउटा दलमा सङ्गठित हुने र अर्को दललाई मतदान गर्नुपर्ने विषयलाई राम्रो मानेको देखिन्न । विगतका निर्वाचनका अनुभवले पनि त्यही शिक्षा दिएको छ । दलीय व्यवस्थामा दलीय आधारमा हुने निर्वाचन पद्धति विपरीत हुने गठबन्धन र यसमा आधारित हुने चुनावले दलीय व्यवस्था र प्रकारान्तरले लोकतन्त्रलाई कमजोर बनाउने देखिन्छ । मेलजोल, सहकार्य वा गठबन्धन गर्ने भनेका राजनीतिक दलहरूले यसतर्फ ध्यान दिएका छन् कि छैनन् ? यसतर्फ ध्यान दिउन् । 

बहुदलीय प्रतिस्पर्धामा आधारित निर्वाचन हुने प्रावधान विपरीत जानु लोकतान्त्रिक विचार, विधि र व्यवहार विपरीत हुन्छ । आजका सचेत जनताले सिद्धान्तहिन तथा षड्यन्त्रमा आधारित मोर्चाबन्दीलाई राजनीतिक सहकार्यका रूपमा स्वीकार गर्लान् जस्तो लाग्दैन । मतदाताहरू लोकतान्त्रिक प्रावधान विपरीत हुने क्रियाकलापप्रति थप सचेत हुनु आवश्यक देखिन्छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : ०४ बजे