दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निन्द्रा लाग्दैन ? नडराउनुहोस्, यो एक दिक्दारीपन मात्र हुनसक्छ

काठमाडौँ । तीनकुनेको कान्तिपुर अस्पतालमा भेटिएका सिन्धुपाल्चोकका धन बहादुर तामाङ हेर्दा निकै दुःखी र निराश देखिन्थे । उनी माथि जहिल्यै पहाड खसेको जस्तो अनुभव हुने समस्या रहेछ ।  तामाङलाई एन्जाइटिस्सँगै निन्द्रा नलाग्ने रोग थपिएको रहेछ । पेशाले सामाजिक विषयका शिक्षक हुनुहुँदो रहेछ तामाङ । ‘ म एक एनजाइटिस रोगी व्यक्ति हुँ, मलाई साना साना कुरामा पनि डर लाग्ने गर्दछ, सुतेको बेला पनि म मरी पो हाल्छु की भन्ने डर मनमा बारम्बार आइरहन्छ , त्यसकारण म सुत्न पनि सक्दिन ।’ उनले थपे,‘ म सुतेकै अवस्थामा मरे भने मेरो परिवारको के अवस्था होला ? साना साना दुई बच्चाको के होला ? भन्ने पिरले मलाई निन्द्रा नलागेको धेरै भयो’ तामाङले यही समस्याका कारण आफ्नो दैनिक क्रियाकलापमा ठुलो समस्या परिरहेको र उपचार गर्न राजधानी आएको सुनाए ।

रसुवा घर भएकी २५ वर्षकी सरिता थापाको समस्या पनि तामाङको जस्तै छ । आफ्नो समस्याको उपचारका लागि मनोचिकित्सकलाई भेट्न काठमाडौँ आएकी थापा मनोविश्लेषक सेवाकेन्द्र तीनकुनेमा भेटिइन् । श्रीमान् वैदेशिक रोजगारका लागि विदेश गएको चार वर्ष भएको रहेछ । श्रीमानको प्रतीक्षामा बस्दा बस्दै उनलाई एकाएक निन्द्रा नै नलाग्न समस्या भएछ  । अनिन्द्रा बसेको वर्षाैसम्म पनि उनी कुनै परामर्श वा मनोविश्लेषक कहाँ गइकी रहिन्छिन् ।  श्रीमान् र घर परिवारले जँचाउन जाँउ भनेर दबाब दिएको कारण काठमाडौँ आएको उनले चक्रपथलाई बताइन् । ‘अनिन्द्राका कारण मलाई धेरै समस्या आएका छन्, टाउको दुख्ने, रिगाटा लाग्ने, शरीर हलुका हुने जस्ता पीडाले समेत म उपचार गर्न बाध्य नै भएर काकाको छोरीसँग आएको हुँ’ उनले भनिन् । 

हेर्दा सुकिला मुकिला देखिने आफूलाई पागल प्रेमी नाम बताउन मन पराउने लक्षु शेर्पालाई कोटेश्वरकोे सडक छेउको तार जालिमा लता हान्दै गरेको अवस्थामा भेटिए । शेर्पाका अनुसार, ‘मैले रिया (नाम परिवर्तन) लाई धेरै माया गर्थे उसले पनि मलाई औधी माया गरेको जस्तो मलाई लाग्थ्यो, हाम्रो भेटघाट पनि भइरहन्थ्यो, हामी फोनमा कुरा गर्दा कति बेला उज्यालो हुन्थ्यो पत्तै हुँदैनथ्यो ।  पछि उनी परिवर्तन भएको जस्तो लाग्यो । उसको साथीबाट उ बिहे गर्दै छ रे भनेर सुनेपछि एक पल्ट त बेहोस जस्तै भएछु’ उनले भने । त्यस पछि उनी सम्पर्क विहीन भइन् । हामी बीच कुरा नभएको आज चौध दिन भयो ।’ उनले मलिन स्वरमा बताए । ‘जाने त गइसक्यो तर पनि  ऊसँग हाँसेर गरेका एस.एम.एसले आज भोलि सुत्न दिएका छैन’ शेर्पाले आँखामा आशु निकाल्दै भने । 
अनिन्द्राको कारण शरीर कमजोर बन्दै गएको र हिँड्दा हिँड्दै मर्न पाए पनि कति आनन्द हुन्थ्यो जस्तो लाग्ने गरेको शेर्पाले बताए । माया पिरतीले यसरी तड्पाउने पहिलै थाहा भएको भए म यो माया रुपी मायाको कुलतमा नलाग्ने कुरा उनले गरे । 

के भन्छन् त ? मनोविश्लेषक वाशु आर्चाय 
निन्द्रा नपर्दा नडराउनुहोस्, जब डराउनु हुन्छ झन् निन्द्रा लाग्दैन । झन् गारो हुन्छ । निन्द्रा लागेन भन्दैमा सबै सकिएको हैन, खतम नै भएको पनि हैन । निन्द्रा लाग्दैन भने यो एउटा  दिक्दारीपनको कारणले आएको सानो समस्या हो ठिक हुन्छ भनी मनोबल बढाउने तिर जानु पर्छ,निराश तिर हैन ।
निन्द्रा नलाग्नु थुप्रै मनोरोगका कारणहरू हुन सक्छन् । जस्तै धेरै आवश्यक भन्दा बढी खुसी हुँदा समेत निन्द्रा लाग्दैन, मष्तिकको कार्यमा घटबढ हुनाले, एनजाइटिस, डिप्रेसन, अति नै गम्भीर प्रकारका रोगहरू रहेको छ भने पनि निन्द्रा लाग्दैन, केही कुराको गहिरो रूपमा प्रतीक्षा गरेको छ भने पनि निन्द्रा लाग्दैन, प्रेममा धोका खाएको होस् या कोही मनको करिब रहेको व्यक्तिको मु्त्यु भएको खण्डमा पनि निन्द्रा नलाग्न सक्छ । 

एक दुई दिन निन्द्रा नलागे त केही हुन्न । जब त्यसको समय अवधि लम्बिँदै जान्छ मन आत्तिँदै जान्छ ला किन मलाई निन्द्रा नलागेको होला ? ओई के भो तँलाई ? भन्ने प्रश्न मनमा उठ्न थाल्छ ।  तब मान्छेलाई झन् निन्द्रा लाग्दैन । जब व्यक्तिमा मनोरोगहरू आउँछ तब मलाई  के भयो ? म अब सकिए । म अब मर्नु पर्छ भन्ने जस्ता विचार आउन थाल्छ । यो जिन्दगी बेकार हो, अव काम छैन जस्ता जिन्दगी देखि हार खाने सोंचले निन्द्रा पर्दैन । 

डिप्रेसन, एनजाइटिस र इन्सोमेनिया जुन राम्रासँग निन्द्रा नपुग्नाले वा अनिन्द्राका कारण यस्ता रोगहरू देखा पर्दछन् । कतिपय इन्सोमेनियाहरु औषधी बिना ठिक नहुने खालका समेत हुनाले यस्तो समस्यालाई पालेर बस्नु हुँदैन समयमै यसलाई उपचार गर्नुपर्छ । 
ननिदाएको अवस्थामा हामी  डराएनाै भने केही पनि समस्याहरूले हामिलाई छुन सक्दैन तर जहाँ डराउँछौँ त्यहाँ धेरै समस्याहरू आउने गर्छन् । मद्यपान र धु्म्रपानले निन्द्रा लाग्छ भनेर त्यस्ता चिजहरू सेवन गर्नु भनेको त्यो भन्दा मूर्खता अरू केही हैन । त्यसैले क्षणिक आनन्द र निन्द्रा दिए पनि त्यसले एकदिन जीवन नै समाप्त पारिदिनसक्छ ।  

जबसम्म खुट्टाको घाउ ठिक हुन्न तबसम्म  कैँडा लागेको विसोख हुन्न, कैँडा निको पार्न पहिला खुट्टाको घाउ निको हुन जरुरत पर्छ भने झैँ मनोरोग पूर्ण रूपमा निको नभएसम्म निन्द्रा लाग्दैन । 
तपाईँलाई निन्द्रा लाग्दैन भने एक्लै तर्क गरेर नवस्नुुस्, परामर्श केन्द्र या मनोविश्लेषकहरू भएको ठाउँमा जानुहोस् । आफ्नो दुःख , पीडा के के छन् सबै खुल्ला भएर बताउनुहोस् । त्यस पछि तपाईँलाई औषधि चलाउने हो कि अन्य परामर्श नै गर्ने हो थाहा हुन्छ । 
राती सुत्ने बेला चिया, कफी नखानुहोस् । निन्द्रा नलागेसम्म आफू सुत्ने कोठामा नजानुहोस् । निन्द्रा आफैमा एक रोग हैन यो अन्य मनोरोगका कारणले लाग्दछ । जब मनोरोगहरू न्यून हुन्छ तब निन्द्रा पनि लाग्न थाल्छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ४६ बजे