राक्सिराङको चेपाङ बस्तीमा बिजुली बत्ति

मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म  जडान हुन नसक्दा उक्त सेटमार्फत  बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको  विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए  । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको  अँध्यारो हटेर उज्यालो भएको  गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

रु २३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको  आर्थिक सहयोगका साथै  स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

पेल्ट्रिक  सेटका लागि  उक्त सञ्जालले  रु १३ लाख सहयोग गरेकामा  गाउँपालिकाले  रु छ लाख र बाँकी रु चार लाख बराबरकोे स्थानीयवासीले श्रमदान गरेका थिए । 
अघिल्लो वर्ष पुस महिनादेखि  निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भन्नुभयो । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले  गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : १३ बजे