यदि प्रचण्ड कम्युनिष्ट हुन् भने म कम्युनिष्ट होइन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट भए आफू कम्युनिष्ट हुनै नसक्ने बताउनु भएको छ ।

आज प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताउनुभयो ।

‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भन्नुभयो, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी हुन्छ ? हुने कुरै रहेन नी !’

अध्यक्ष ओलीले भन्नुभयो, ‘यदि प्रचण्ड कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन। म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने अध्यक्ष ओलीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो सम्भव नै छैन । दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’ आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भन्नुभयो, ‘उहाँ देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात–जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु…’

जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी परिणामले देखाउने अध्यक्ष ओलीले बताउनु भयो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ०६ बजे