पाँच दलीय गठबन्धनलाई तालमेल गर्न भारतको ग्रीन सिग्नल

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वदेश आएपछि गठबन्धन दलका बीच ‘मोडालिटी’ बारे छलफल तीव्र बनेको छ । 

​​​​​​​नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे छलफल गरेर थप निर्णय गर्ने तयारी गरेको हो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीले पाँच दलीय गठबन्धनलाई ग्रीन सिग्नल दिएकाले तालमेल सफल पार्न केन्द्रबाटै मोडालिटीमा सहमति गर्ने तयारीमा पाँच दल जुटेका हुन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा कूटनीतिक मर्यादाको खिल्ली उडाउँदै विजेपीको मुख्यालय र नेताहरूलाई भेट्न पुगेको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ ।

तालमेलका निम्ति माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाका नेताहरू खुसीले गद गद भएका छन् भने काङ्ग्रेसभित्र असन्तुष्टि देखिएको छ । गठबन्धन गर्दा नेपाली कांग्रेस झन् खुम्चिने हो की भन्ने कांग्रेसका नेताहरू सशङ्कित भएका छन् । 

नेपाली कांग्रेसको संस्थापन इतर  डा. शेखर कोइरालाका पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने बताउँदै आएको छ । कोइराला पक्षले निरन्तर गठबन्धन विरोधी अभिव्यक्ति दिँदै आएका छन् । 

उता माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसलाई साइजमा ल्याउन माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको खुलासा गरे पनि उक्त कुरामा कुनै सत्यता भने छैन । व्यक्तिगत स्वार्थ र पद पाउने नेताहरू भने  गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय तहको निर्वाचन, प्रदेश र सङ्घको निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनु पर्ने माधव कुमार नेपाल लगायतका नेताहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : २६ बजे