तीन डिआइजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ । 

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखियो । आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ । 

तीन डिआइजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुग्नुभएको हो ।  रिटमा उहाँहरूले कनिष्ठ डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गर्नुभएको छ । 

सर्वोच्च जानुअघि उहाँहरूले बढुवा विरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिनुभएको थियो । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

त्यसपछि गत बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस हुनुभएका डिआइजीहरू वसन्तकुमार पन्त, धीर प्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो । 

डिआइजीको वरियतामा भने पन्त तेस्रो, सिंह छैटौँ र धानुक आठौँमा हुनुहुन्थ्यो ।  

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५६ बजे