चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्ति भाव देखाइयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्ति भाव देखाएको बताउनुभएको छ  ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको भन्दै प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ ।

उहाँले नेपालको संसद्ले सर्वसम्मत रूपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्नुहुँदै स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसाबले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न प्रधानमन्त्री नसकेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको उहाँको तर्क छ ।  वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिनुभयो ।

“उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ”, उहाँले भन्नुभयो ।  

नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषय उठान नभएको भन्नुहुँदै उहाँले राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको बताउनुभयो । 

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष  पोखरेलले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच दलीय गठबन्धन आए पनि एमाले एक्लै काफी हुने दाबी गर्नुभयो  “हामीले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने हाम्रो प्रयत्न हो” उहाँले भन्नुभयो । 

सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उहाँले संवेदनशील विषयमा निर्णय गर्दा पनि आयोगले दलहरूसँग छलफल नै नगरेको बताउनुभयो ।

“मनोनयन दर्ता गर्ने समय दुई दिन रे । के का लागि दुई दिन ?”, उहाँले भन्नुभयो, “आयोगले पनि दलहरूसँग परामर्श गरेको छैन । मतपत्रको रङको विषय पनि अनौठो छ ।”

उहाँले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने तर केन्द्रीय तहबाट भने गठबन्धन नहुने बताउनुभयो । “स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा अन्य दलसँग तालमेल गर्नु अलग कुरा हो । तर, केन्द्रीय तहबाट कुनै दलसँग चुनावी तालमेल हुँदैन”, उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ५७ बजे