‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्थानीय निर्वाचन : राम्रो र हाम्रो उम्मेदवार अनि जनमुखी नारा र प्रतिबद्धता

स्थानीय निर्वाचनको सम्मुखमा सत्तामा रहेका दलहरू पराजित मनोविज्ञानका साथ गठबन्धन बनाउँदै छन् भने विपक्षी दल नेकपा एमाले उच्च मनोबलका साथ एक्लै गठबन्धनलाई पराजित गर्न सक्छौँ भन्ने धारणा बनाएर राजनीतिक गतिविधिहरू गरिरहेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसको संस्थापन पक्षका नेताहरूले वामपन्थीहरू विभाजित हुँदा पनि एक्लै जित्छौँ भन्ने आँटका साथ बोल्न सकिरहेका छैनन् ।

“नेकपा एमाले बलियो छ, त्यसैले गठबन्धन जरुरी छ । प्रचण्ड हार्नका लागि चुनाव लड्छ ? गठबन्धन बनाइएन भने मिल्दिन्छन् भोलि एमालेमा गएर ।” – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कम्फर्टेबल गठबन्धनमा रहेका दलहरूले स्वीकारेको सत्य के हो भने नेकपा एमाले कमजोर छैन, हामी एक्ला एक्लै चुनावमा गइयो भने एमाले नै ठुलो दल बन्छ । हिजोसम्म यो कुरो आन्तरिक रूपमा चर्चा गरेका थिए भने आज खुला रूपमा मिलेर गइएन भने एमालेलाई हराउन सकिन्न भन्न थालेका छन् । त्यसको पछिल्लो प्रमाण प्रधानमन्त्री देउवाको भनाई नै  हो । तर गठबन्धनबाट नै चुनाव लडेता पनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने टिप्पणी काँग्रेसका नेताहरूले गर्न थालेका छन् । रोल्पाका नेपाली काँग्रेसका नेता मनोजमणी आचार्य भन्छन्, “पार्टीको निर्णय मान्नुपर्ने बाध्यता भएता पनि माओवादीलाई चुनावमा काँग्रेसले भोट दिन सक्दैन ।”

चितवनका पूर्व सभापति तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ भन्छन्, “ एमालेको रिसले माओवादीका बाबुछोरा जिताउन सकिदैन् । यदि केन्द्रले त्यसो गर्‍यो भने जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन् ।”

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीले बोलाएको बैठक बहिष्कार गर्दै भनेका छन्, “नेपाली काँग्रेसले वर्तमान गठबन्धनका दलहरूप्रति सदाशयता राख्छ भन्दैमा उनीहरूको बाटो बचाइदिन आफ्नो पार्टीमा पेट्रोल खन्याउन सक्दैन ।” तर महामन्त्री गगन थापा भने मौन देखिएका छन् ।

गठबन्धनका नेताहरूको सार्वजनिक अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ, उनीहरू चुनाव अगावै मनोवैज्ञानिक रूपमा पराजय स्विकारेर एमालेको जीतको आधार बनाउन सघाएका छन् । वामपन्थी जनमत दक्षिणपन्थी दल काँग्रेसलाई जिताउने सर्तको पक्षमा उभिनेवाला छैनन् भन्ने विश्लेषणले पनि एमालेलाई बलियो बनाउने देखिएको छ । अब गठबन्धनले दिएको चुनौती र अवसरलाई एमालेले कसरी सदुपयोग गर्ला भनेर टीकाटिप्पणीहरू हुन थालेका छन् ।

नेकपा एमालेले चुनावमा अपेक्षित जित हासिल गर्ने हो भने 
​​​​​​​पहिलो:
राम्रो–असल र लोकप्रिय अनि हाम्रो–विचार र पार्टीप्रति प्रतिबद्ध उम्मेदवार पत्ता लगाएर उठाउन सक्नुपर्छ । 
दोस्रो : नेता तथा कार्यकर्ताहरूमा सान्दर्भिक, व्यावहारिक र प्रगतिशील अनि त्यसमा प्रतिबद्धता जनाउने फराकिलो र दूरदर्शी सोच पनि हुनुपर्छ । तर पार्टीका नेताहरूको बोली र व्यवहारले भन्छ उनीहरू यथास्थितिबाट बाहिर निस्कन सकेका छैनन् वा चाहेनन् ।

यतिखेर ढिला नगरी नेकपा एमालेले “जनमुखी शासन र घरदैलो सेवामुखी प्रशासन” अनि “गाउँघरमा सिंहदरबार घर–घरमा सरकार” को नारा लिएर अब बन्ने स्थानीय सरकार कार्यालयमा बसेर होइन, जनताको घरदैलोमा पुगेर सेवा दिनेछ भन्ने रणनीति बनाएर प्रतिबद्धता यथाशीघ्र जारी गर्नुपर्छ । भोलिका दिनमा जनताले आफ्ना समस्या समाधानका लागि वडा तथा पालिका कार्यालय धाउने र कर्मचारीहरूको खप्की खानुपर्ने अवस्थाको अन्त्य गर्न उम्मेदवारहरूले लिखित प्रतिबद्धता जनाउनुपर्दछ ।”  नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ, “विपक्षीहरू तिम्रा विरुद्धमा एक ठाउँमा उभिन्छन् भने सम्झ बुझ तिमी सही बाटोमा छौँ।” चाणक्यले भने झैँ भ्रममा नपरी किङ मेकर भावनाका साथ पार्टीको पक्षमा दृढ भएर उभिनुपर्छ ।

अब २०७४ को स्थानीय चुनावी घोषणापत्र र त्यसको कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरूलाई स्विकारेर एउटा स्तरीय मापदण्डका आधारमा ढिलो नगरी पालिका स्तरको बेग्ला–बेग्लै घोषणापत्र बनाउनुपर्छ । पहिलो कार्यकाल भएकाले देखिएका समस्या र जटिलता अनि कमीकमजोरीका बारेमा जनतालाई सरल भाषामा बुझाउनुपर्दछ । सङ्घीय शासन प्रणालीका कारणले जनतामा पर्न गएको करको भारले गुनासो बढेको छ । नीतिगत त्रुटि सच्याएर जनमुखी नीति तथा कार्यक्रमहरूमार्फत जनताको विश्वास जित्ने आधार बनाउनुपर्छ ।

स्थानीय निर्वाचनमा दलहरूले घोषणापत्र बनाउँदा निम्न मुद्दाहरूमा विशेष ध्यान दिनुपर्छ;
क.  आधारभूतदेखि क्याम्पस स्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय, सर्वसुलभ र नियमित ।
ख.  कृषि तथा पशुपालन व्यवसायमा संलग्न किसानहरूलाई प्रोत्साहन, सहजीकरण र प्रत्यक्ष सहयोगको योजना।
ग.  विगतको अनुभवबाट सिकेर गुणस्तरीय भौतिक पूर्वाधार विकासको पञ्चवर्षीय योजना।
घ.  घर–घरमा सरकार नारा पूरा गर्न घुम्ते सेवा सुविधा व्यापक र प्रभावकारी।
ङ.  स्थानीय पहिचानको संरक्षण, प्रयोग र विकासको खाका ।
च.  भूगोल अनुसारको कुन क्षेत्रमा कस्तो कार्यक्रमलाई प्राथमिकता दिने भने विज्ञहरूको समूह गठन ।
छ.  नयाँ मतदाताको चासो र आवश्यकतालाई सम्बोधन गर्ने गरी योजना ।
ज.  नागरिकहरूले प्रत्यक्ष लाभ महसुस गर्ने खालका राहत तथा सहयोगको नीति ।
झ.  जनतामा करको भार कम गर्न अनि विकासमा जनसहभागिता बढाउने रणनीति ।
ञ.  एउटा पालिका र अर्को पालिकासँग सहकार्य गरेर गर्न सकिने योजनाहरूको पहिचान र कार्यान्वयनको योजना ।

राजा, मन्त्री र गुरुले धन सङ्ग्रह गर्नुहुन्न ।
राजाले धन सङ्ग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र नै गरिब हुन्छ ।
मन्त्रीले धन सङ्ग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ ।
गुरुले धन सङ्ग्रह गर्न थालेमा शिक्षाको मूल्यमान्यतामा ह्रास आउँछ र मूर्खहरूको साम्राज्य फैलिन्छ ।

रामायणअनुसार ऋषि वशिष्ठले भनेको कुरालाई आत्मसाथ गरेर स्थानीय सरकारमार्फत त्यसको कार्यान्वयन पनि प्रभावकारी रूपमा गर्छौँ भनेर राजनीतिक दलहरूले सार्वजनिक रूपमा प्रतिबद्धता जनाउनुपर्छ ।

माधव र प्रचण्डका वैशाखी टेकेर शेरबहादुर देउवा आफ्नो पार्टी नेपाली काँग्रेसलाई पहिलो बनाउन दौड्ने रे ! जनता झुक्याउन दक्षिण पश्चिमका दासहरू ठुला कुरा गर्दैछन् अनि माफियामैत्री राजनीति गरिरहेका छन् । गोविन्द अधिकारीले गठबन्धनलाई व्यङ्ग्य गर्दै काँग्रेस डुबाउने गठबन्धनको डुङ्गा शीर्षकमा लेख्छन्, “सत्ताका लागि आफूले वर्षौँ लगाएर बनाएको पार्टी भताभुङ्ग पारेर हिँड्नेहरूलाई गठबन्धन भत्काउन कतिबेर लाग्ला र !” अधिकारी अनि अन्यको भनाइहरूबाट हामीले बुझ्नुपर्छ, गठबन्धनबाट सच्चा काँग्रेसीहरू उत्साहित छैनन् । उनीहरू गठबन्धनको विपक्षमा बोल्दैछन् लेख्दैछन् । काँग्रेसी कार्यकर्ताहरूको गठबन्धन विरोधी मनोविज्ञानलाई पनि एमालेले भरपुर उपयोग गर्ने रणनीति बनाउनुपर्छ ।

राजनीतिप्रति आमजनताको विश्वास बढाउन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आदर्शअनुरूपको व्यवहार गर्न सक्नुपर्छ । बोली र व्यवहारबीच सधैँ तालमेल मिलाउनुपर्छ । राजनीति जनता र देशको सेवा गर्ने माध्यम हो भन्ने मान्यताबाट नेता तथा कार्यकर्ताहरू निर्देशित हुनुपर्छ । अनि यसले जनतामा राजनीतिप्रति हेर्ने दृष्टिकोण सकारात्मक बन्न थाल्छ । त्यसैले यतिखेर नेकपा एमालेले जनमतबाट श्रेष्ठता हासिल गर्ने राजनीतिक विचार जनताको बहुदलीय जनवादअनुसार आफ्ना नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै पार्टीले चुनाव जित्ने ढङ्गले उम्मेदवार चयन गर्ने र घोषणापत्र बनाएर सार्वजनिक गर्नुपर्छ । परम्परागत शैली र अभ्यासले चुनाव जित्नका लागि जनादेश प्राप्त गर्न सकिन्न । विपक्षीहरूले उठाएको नकारात्मक प्रश्नहरूको अभ्यासहरूबाट त्यसको ठिक उत्तर दिनुपर्छ । तर परम्परागत शैली र अभ्यासले चुनाव जित्नका लागि जनादेश प्राप्त गर्न सकिन्न भन्ने बोध नेकपा एमाले नेता तथा कार्यकर्ताहरूमा हुनुपर्छ । विपक्षीहरूलाई जनमतबाट पराजित गर्ने रणनीति चाहिन्छ । राम्रो उम्मेदवार छान्नुपर्छ, त्यसको के कति प्रयास भएको छ, स्पष्ट भएको छैन । जनमुखी घोषणापत्र बनाउनुपर्छ, गृहकार्य गर्न ढिलो भएको देखिन्छ । ढिला गरी भएता पनि नेकपा एमालेको केन्द्रीय कार्यालयले स्थानीय चुनावको घोषणापत्र बनाउन इमेलमार्फत सुझाव मागेको छ । प्राप्त सुझावहरूलाई गम्भीर रूपमा लिएर एमालेले घोषणापत्र तयारी निर्देशिका बनाउन सहयोग पुग्न सक्छ भन्ने विश्वास गरिएको छ । तर प्राप्त सुझावहरूलाई रचनात्मक ढङ्गले प्रयोग गरेर जनमुखी घोषणापत्रमार्फत विपक्षीहरूसँग प्रतिस्पर्धा गर्ने राम्रो वातावरण बन्नेछ भन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ५४ बजे