शिक्षा क्षेत्रलाई उपलब्धि मूलक बनाउनु पर्नेमा राष्ट्रपतिकाे जोड

​​​​​​​सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको  शिक्षा क्षेत्रलाई उपलब्धि मूलक बनाउनु पर्नेमा जोड  दिनुभएको छ । आज सिन्धुपाल्चोकको पाँचपोखरीथाङपाल गाउँपालिका ४ मा नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुहुँदै उहाँले राज्यले शिक्षा क्षेत्रमा ठुलो   धनराशि खर्च गरेकाले शिक्षालाई परिणाममुखी बनाउनु पर्ने बताउनुभयो । 

भूकम्पले  क्षति गरेका ४ विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयको भवन उद्घाटन गर्नुहुँदै उहाँले  विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 

भूकम्प,बाढी,कोरोना बीच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालय भवनसँगै अब पढाइपनि गुणस्तरीय बनाउन पर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रुप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौति नेपालका हिमशृङखला तथा अग्ला पहाडहरूमा देखा पर्न थालेको बताउनुभयो । 

जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिहरू निम्तिन थालेको बताउनुभएको हो ।

उहाँले जलवायु अनुकुलनयोजना बनाई त्यस अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताउनुभयो ।

सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा पनि उहाँलेजोड दिनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री  शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो।

यस्तै कार्यक्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनिअनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राख्नुभयो । एसियाली विकास बैङ्क (एडिबी) को २४ करोड रुपैयाँ सहयोगमा बनेको विद्यालयमा दुई हजार जना विद्यार्थी पु¥याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासि लामाले बताउनुभयो  ।

शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाइ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोशे ढुङ्गा भएको उहाँले बताउनुभयो ।

बाग्मती प्रदेश भित्र वृहत् विद्यालयको रुपमा सञ्चालनमा आउने थाङपाल भ्याली मा.वि प्रदेश भित्रकै दोस्रो सामुदायिक विद्यालय हो । एसियाली बैङ्क एडिबीको २४ करोडलागत  स्टमेट अनुसार अहिले विद्यालयको सुविधा सम्पन्न ५ वटा भवन (ब्लक ) निमार्ण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले ४ वटा विद्यालयलाई गाभेर १२ कक्षा सम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको हो । प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब,क्यान्टिन, होस्टलको व्यवस्था, बालमैत्री संरचना ,स्कुल बसको व्यवस्था रहेको छ ।

गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे विद्यालय भवननिर्माण भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । 

विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समय सापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको लामाको भनाई छ । ग्रामीण भेगमा शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैले पाठ्यक्रम तयारपारी  पठनपाठन सुरु गरेको हो । 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ३० बजे