दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपतिद्वारा थाङपाल भ्याली माविको उद्धघाटन 

​​​​​​​​​​​​​​सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले  थाङपाल भ्याली मा.वि. को उद्धघाटन गर्नुभएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली माध्यमिक विद्यालय प्रदेशभित्रकै दोस्रो ठुलो विद्यालय हो । 

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि ४ वटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । 

विद्यालय निर्माणका लागि एसियाली बैङ्क (एडिबी) को २४ करोड सहयोग लिइएको थियो ।  पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो ।

प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजाघर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । 

ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि, सस्तो, सुलभ र सहज रूपमा सम्पुणर्ले गुणस्तर शिक्षा प्राप्त गर्ने उद्देश्यले पालिकाले ड्रिम प्रोजेक्टका रूपमा सो विद्यालय निमार्ण गरिएको  अध्यक्ष लामाले बताउनुभयो ।

गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठा सहितका पाँचवटा प्राविधिक भवन निर्माण गरिएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले जानकारी दिनुभयो ।  विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको समेत उहाँले बताउनुभयो ।  विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरू आभारी रहेको उहाँको भनाइ छ । 

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ । कार्यक्रममा शिक्षा मन्त्री देवेन्द्र पौडेल पूर्व मन्त्री शेरबहादुर तामाङ लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : १६ बजे