यस्तो छ अनेरास्ववियुले पारित गरेका राजनीतिक तथा शैक्षिक प्रस्तावहरुः

​​​​​​​काठमाडौँ –  नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कमिटिको प्रथम विस्तारित वैठकले राजनीतिक तथा शैक्षिक प्रस्तावहरु पारित गरेको छ 

काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा चैत्र १८–१९ गते बसेको अनेरास्ववियुको प्रथम विस्तारित वैठकको प्रमुख अतिथिमा नेकपा एमालेका अध्यक्ष क. के.पी. शर्मा ओली हुनुहुन्थ्यो ।  बैठककमा पार्टीका उपाध्यक्ष क.अष्टलक्ष्मी शाक्य, महासचिव क. शंकर पोखरेल, स्थायी कमिटी सदस्य क. भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम् विद्यार्थी इन्चार्ज क.माधव ढुङ्गेलले समसामयिक परिस्थिति र स्थानिय तह निर्वाचन परिचालन सम्बन्धमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो ।

यस्तो छ बैठकद्धारा पारित समसामयिक राजनीतिक तथा शैक्षिक प्रस्तावहरुः

युक्रेनी जनताका स्वतन्त्रपूर्वक बाँच्न पाउने मानव अधिकारलाई रसियाले कुण्ठित गरेको छ, तत्काल युद्धलाई रोकी शान्तिपुर्ण वार्ताको माध्यमबाट समस्याको सामाधान गर्न यो बैठक अन्तर्राष्ट्रिय समुदायसँग जोडदार माग गर्दछ ।

सरकारका प्रमुख छिमेकी मुलकको भ्रमणमा जाँदा होस वा अन्य मुलकमा जाँदा होस देशका राजनीतिक दल र प्रमुख प्रतिपक्ष दल सँग छलफल नगरी स्पष्ट निति तथा छलफलका विषयवस्तु सार्वजनिक नगरी भारत भ्रमणमा जानु राष्ट्रिय अखण्डता तथा परराष्ट्र निति विपरित परमादेश सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमाा जानु शंकास्पद रहेको र प्रोटोकल कुटनीतिक मर्यादा विपरीत भाजपाको कार्यालय जानु लम्पसारवादी भएको ठहर गर्दै कुनै पनि राष्ट्रघाति सम्झौता भए, गरेमा नेपाली जनतालाई किमार्थ स्वीकार्य हुँदैन त्यसका निम्ति सचेत हुन यो बैठक हार्दिक अपिल गर्दछ ।

आवाधिक निर्वाचन लोकतन्त्रको मुटु हो । राजनीतिक दलहरु बीचको निष्पक्ष र स्वतन्त्र निर्वाचनको सुन्दर पक्ष हो । यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन धाँधलीरहित र निष्पक्षरुपमा गराउन सरकारपक्ष समक्ष जोडदार माग गर्दछ ।

इन्धन र ग्याँसको मूल्य बृद्धिसँगै खाद्यपदार्थ लगायत अन्य सामाग्रीको मूल्यवृद्धिले जनताको दैनिक जीवन झन कष्टकर बन्दै गईरहेकोले तत्काल ईन्धनको मूल्यलाई समायोजन गरी बजार अनुगमन गर्न यो बैठक जोडदार माग गर्दछ ।

विविध क्षेत्रमा देखिएको ऋणात्मक आर्थिक सु्चांक यो गठबन्धन सरकारको उपहार हो । यो आर्थिक तरलतालाई कम गर्न पुँजीगत खर्च पारदर्शी बनाई आर्थिक सुशासन कायम गर्न यो बैठक जोडदार अपिल गर्दछ ।

कोभिड १९ को संक्रमणको कारण शैक्षिक प्रणाली तहसनहस बनेको छ त्यसलाई व्यवस्थित गर्न शैक्षिक क्यालेण्डर निर्माण र कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ ।

नेपालको सबै विश्वविद्यालयमा परिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री वनाई अनुसन्धनात्मक शिक्षालाई पूर्णरुपमा राज्यले निशुल्क बनाउन यो बैठक जोडदार माग गर्दछ ।

मेडिकल शिक्षा आयोगको कमजोर भुमिका, निजि मेडिकल कलेजहरुको आर्थिक÷चर्को शुल्क असुलीको रवैया बढ्दो छ । यसलाई नियन्त्रण गर्न एउटा छुट्टै नियमनकारी निकाय बनाउन नेपाल सरकारसँग यो वैठक जोडदार माग गर्दछ ।

त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी र रोकिएको सेवा आयोगका परीक्षा लगायत विश्वविद्यालयमा सरकारको नाङ्गो हस्तक्षेपको अनेरास्ववियु घोर भत्र्सना गर्दै तत्काल ताला बन्दी खोल्न आग्रह गर्दछ ।

बैठकले तय गरेका आगामी शैक्षिक कार्ययोजनाहरु :

निम्नलिखित पक्षहरुलाई समेटेर समाजवादी शिक्षा प्रणालीको आधार खडा गर्ने हाम्रो शैक्षिक कार्यदिशालाई टेवा पुग्ने गरी हामिले विद्यमान शिक्षा क्षेत्रमा देखिएका शैक्षिक मुद्दाहरूलाई दृढतापूर्वक समातेर तत्कालका लागि योजनाबद्ध रूपमा शैक्षिक आन्दोलनलाई उठान गर्ने निर्णय गरिएको छ ।

क) नितिगत तथा संरचनागत पुनर्संरचनाको पक्ष
ख) शिक्षामा राष्ट्रियता, हाम्रो प्रतिबद्धता
ग) आधारभूत शिक्षा मौलिक हक तथा माध्यमिक शिक्षा निःशुल्क कार्यान्वयनमा जोड
घ) सार्वजनिक शिक्षामा राज्यको दायित्व र निजी शिक्षाको विस्थापन हाम्रो अभियान,
ङ) समाजवादी शिक्षा प्रणालीको आधार : प्राविधिक तथा व्यवसायिक शिक्षा,

स्थानीय तहको निर्वाचनमा अनेरास्ववियु:

“वडा र पालिकामा अखिलको जागरण अभियान, सुशासन र समृद्ध स्थानीय सरकार निर्माणका निम्ति सूर्य चिन्हमा मतदान” भन्ने उद्घोषका साथ अनेरास्ववियुका सम्पूर्ण कमिटीहरु आ–आफ्नो कार्यक्षेत्रमा आगामी बैशाख ३० गते सम्म स्थानिय तह निर्वाचन सहयोग कमिटीको रुपमा परिचालित हुनेछन् ।

उपत्यका र प्रदेश राजधानीमा रहेका सम्पूर्ण अनेरास्ववियुका पंक्ति आगामी एक हप्ता भित्र आ–आफ्नो पालिकामा नेकपा एमालेलाई विजयी गराउन निर्वाचन सहयोगीको रुपमा अनिवार्य परिचालित हुने ।

मातहतका कमिटीहरुले सार्वजनिक शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी र युवा उद्यमशीलता केन्द्रित एक नमुना स्थानीय निर्वाचन केन्द्रित घोषणापत्रको निर्माण कार्य सरोकारवाला विज्ञसँगको परामर्शमा केन्द्रीय कमिटिले निर्माण गरी मातहतका कमिटीहरूलाई पठाउनेछ । त्यसमा स्थानीय विशिष्टताका आधारमा परिमार्जन गरी प्रत्येक जिल्ला कमिटी र पालिका कमिटीले “म बनाउछु मेरो पालिका”’ भन्ने शीर्षकमा आफ्नो घोषणा पत्र बनाउन सुझाब संकलन गर्ने । आफ्नो भूगोल केन्द्रित नमुना घोषणापत्र निर्माण गरी पार्टी कमिटीलाई हस्तान्तरण गर्ने र पार्टीको स्थानीय घोषणापत्र निर्माणमा सहयोग गर्ने ।

“जनमतको सुरक्षा हाम्रो दायित्व, निश्पक्ष निर्वाचनमा हुने षड्यन्त्र विरुद्ध अनेरास्ववियुको नेतृत्व” भन्ने उद्घोषका साथ प्रत्येक बुथमा अनेरास्वविुका १०० स्वमंसेवकहरु खटिनेछन ।

हाम्रा आगामी सांगठनिक योजना तथा अभियानहरू :

१) साक्षरता सुधार अभियान,
२) मधेश जागरण र साक्षरता अभियान,
३) सार्वजनिक शिक्षामा गुणस्तर वृद्विका लागि विद्यालयदेखि विश्वविद्यालय सुधार अभियान,
४) प्रशिक्षण सञ्चालन अभियान,
५) संगठन विस्तार तथा सदस्यता वितरण अभियान,
६) प्राविधिक तथा चिकित्सा शिक्षा सुधार अभियान,

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : २६ बजे