पार्टीमा विषम परिस्थती उत्पन्न हुँदा अनेमसंघको भूमिका प्रशंसनीय : अध्यक्ष ओली

​​​​​​​भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विषम परिस्थती उत्पन्न हुँदा अखिल नेपाल महिला संघसंग आवद्ध दिदीबहिनीहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

पुरुषमा भन्दा महिला दिदीबहिनीहरुमा पार्टीप्रति स्पष्टता देखिएको भन्दै उहाँले महिला दिदीबहिनीहरुले आम रुपमा पार्टीप्रतिको निष्ठा बुझेको बताउनुभयो । अखिल नेपाल महिलासंघले प्रकाशन गरेको ‘स्थानीय तहका महिला जनप्रतिनिधिको चिनारी’ नामक पुस्तक बालकोटमा बिमोचन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पार्टी छोडेर जाने जनप्रतिनिधि महिला एकाध मात्रै परे । एकाध त जस्तै सप्रिएको ठाँउमा पनि हुन्छ ।’ दिदीबहिनीहरु विचारका पक्षमा स्पष्टता देखियो । कता जाउँ भन्ने थिएन, अहिलेको आन्दोलन जोगाउन दिदीबहिनी युवा र विद्यार्थी अग्रपंक्तिमा देखिएको उहाँको बुझाई थियो ।

अध्यक्ष ओलीले पार्टी बचाउनका लागि महिलाहरु खुलेर मैदानमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी कब्जा गरिसक्दा पनि कार्यकर्ता पंक्ति त्यो कब्जालाई मान्दैनौ भन्दै उत्रिए, ध्वस्त बनाउन खोजेको थियो पार्टी अहिले तुलनै गर्न नसकिने गरि उठेको छ ।’ महिला युवा विद्यार्थीको सक्रियताले पार्टी बलियो बन्दै गएको उहाँको तर्क थियो । ‘एमाले सिध्याउँछु भन्नेहरुलाई तपाईहरुले जवाफ दिनुभएको छ, यो कामको म प्रसंसा गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो कार्यक्रममा महिला जनप्रतिनिधिहरुका बारेमा जानकारी मुलक पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०४ बजे