एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

नेपाली समाज रूपान्तरणका चुनौती र सम्भावनाहरू

१.पृष्ठभूमि:

संसारका हरेक वस्तुहरू परिवर्तित हुन्छन् । मेलै यो लेख लेख्न सुरु गरेको बेलादेखि हालसम्ममा संसारमा करोडौँ स्थानमा परिवर्तन भइसकेको छ। संसारको हरेक क्षण परिवर्तनशील छ र संसारका हरेका वस्तुहरू पनि परिवर्तित छन् । धेरै दार्शनिकहरूले यस विषयमा लेखेका छन् । तर हामीले यसलाई गहिरो गरी हेर्ने र विश्लेषण गर्ने कार्यमा हामी त्यति लागेका हुँदैनौ । 

समाज विकासको इतिहासलाई हेर्दा समाज पनि निरन्तर रूपमा परिवर्तित भइरहेको छ । हामीले विगतको हाम्रो समाजलाई नियालेर हेर्‍यौँ भने उत्पादनका हिसाबले मोटामोटी रूपमा समाजलाई जङ्गली अवस्था, कृषि अवस्था र अहिलेको आधुनिक औद्योगिक समाजको रूपमा पाइन्छ भने युगिन रूपले हेर्दा र समाजलाई विश्लेषण गर्दा विश्व समाजलाई ६ वटा युगमा विभाजन गर्न सकिन्छ । पहिलो, मानव समाजको रूपमा आजभन्दा ४० लाख वर्ष पहिलेको जङ्गलमा बस्ने पिछडिएको आदिम साम्यवादी युग । यस युगमा कुनै भेदभाव र तेरो मेरो भन्ने व्यक्तिवादी अवस्था थिएन । यो युग मानव समाज विकासको प्रारम्भिक चरण र अति लामो समय रहेको युग हो । मानव सभ्यताको हिसाबले पनि यो प्रारम्भिक अवस्था हो । यस युगलाई पनि ७ वटा उपचरणमा विभाजित गरेर हेर्ने गरिन्छ । 

त्यस पछिको आजभन्दा १० हजार वर्ष पहिलाको मालिक तथा दासहरू भएको बर्बर दास युगीन समाज हो । यो समाज पनि बिस्तारै रूपान्तरण हुँदै कृषिमा आधारित सामन्ती समाजमा विकास भयो । कृषिको उत्पादकत्व विकास गर्नका लागि र मानिसले आफ्नो आवश्यकताका साधनहरूको विकासको चरणसँगै समाजमा कलकारखानाहरूको विकास भयो । 

आजभन्दा करिब २३२ वर्ष (सन् १७८९) पहिले फ्रान्सेली राज्य क्रान्तिपछि समाज पुँजीवादी युगमा प्रवेश गरेको मानिन्छ । यस पुँजीवादी युगमा चरम शोषण तथा अत्याचारहरू बढ्दै गए, त्यसको विरुद्ध मार्क्स र एंगेल्सको अगुवाइमा समाजवादी सोच सहित समाजवादी समाजको परिकल्पना भयो । यस समाजवादी सोच तथा विचारको रूसमा लेनिनले सन् १९१७ मा प्रयोग गरी कम्युनिष्ट शासनको सुरुआत गरेका थिए । यसै समयलाई हामीले विश्वमा समाजवादी युगको सुरुआतको रूपमा लिएका छौँ । जब विश्वका सबै देशहरूमा समाजवाद लागू हुन्छ, तब समाज उन्नत, समृद्ध र भेदभावरहित साम्यवादी समाजमा पुग्नेछ भन्ने मार्क्सको कल्पना रहेको छ । अहिले विश्वमा कतिपय समाजहरू सभ्य र सुन्दर हुँदै गएकोले सुदूर भविष्यमा यस्तो समाज निर्माणको सम्भावना देखिँदै आएको छ ।

हामीले हाम्रो नेपाली समाजलाई नियालेर हेर्‍यौँ भने यतिबेला नेपाली समाज युगिन रूपले सामन्ती समाजको अन्त्यतिर र विकासवान पुँजीवादी समाजको अवस्थामा रहेको छ । मार्क्सवादका अनुसार कुनै पनि वस्तु रूपान्तरण हुँदा वस्तु पूर्ण रूपमा नष्ट र पूर्ण रूपमा नयाँ हुँदैन । कुनै पनि वस्तुमा रूपान्तरण हुँदा उक्त वस्तुका काम नलाग्ने केही पक्ष लोप भएर जान्छन्, केही निरन्तरताका पक्षहरू हुन्छन् जसले दुवैलाई जोडने संयोजक तत्त्वको भूमिका खेल्दछ । केही नयाँ परिस्थितिलाई सम्बोधन गर्ने नवीनतम पक्षहरू हुन्छन्, जसले नयाँ परिस्थितिको नेतृत्व गर्दछन् । मार्क्सवादको यो रूपान्तरणको सार्वभौम नियम समाजको रूपान्तरणमा पनि लागु हुन्छ । अव हामीले यो नेपालको पुँजीवादी समाजलाई यहाँका सम्पूर्ण साधन श्रोतहरूलाई समुचित रूपमा परिचालन गरी एउटा विकसित पुँजीवादी समाजमा रूपान्तरण गर्नु हाम्रो केन्द्रीय कार्यभार हो । यसरी हामीले निर्माण गर्ने पुँजीवादी समाजको आधार तथा गन्तव्य भने वैज्ञानिक समाजवादी समाज तर्फ उन्मुख भएको हुनेछ । अथवा हामीले निर्माण गर्ने पुँजीवादी समाजमा समाजवादका आधारहरू समेत रहनेछन् जसलाई हामीले विगतमा पुँजीवादी जनवादी समाजको रूपमा व्याख्या गरेका थियौँ ।  

२. नेपाली समाजको वर्तमान अवस्था:

  • यतिबेला नेपालको राजनीतिक आन्दोलनले एउटा उचाइ प्राप्त गरेको छ विगतका आन्दोलनहरुले सामन्ति समाजको राजनैतिक पक्षलाई संबैधानिक रुपमा अन्त्य गरेकोछ । यसका विकृत सामाजिक तथा साँस्कृतिक पक्षहरु भने रुपान्तरण गर्न बाँकी नै छन् । 
  • नेपाली समाज यतिबेला सक्रमणकालिन पुँजीवादी युगमा हिँडिरहेकोछ । कुन विचारको दलले सरकारको नेतृत्व गर्दछ सोही अनुसार नेपाली समाज अगाडी बढ्दछ । जतिबेला नेपाल सरकारमा कम्युनिष्ट पार्टीको नेतृत्व हुन्छ त्यसबेला सरकारले नेपाली समाजलाई समाजवाद उन्मुख अर्थव्यवस्था हुदै बैज्ञानिक समाजवादी समाज तर्फ  डोर्याउने प्रयास गर्दछ ।
  • समाजवादी अर्थ व्यवस्थाका स्पष्ट सूचांकहरू तय भएका छैनन् र समाजवाद उन्मुख अर्थव्यवस्थामा जाने ठोस आर्थिक कार्यक्रमहरू पनि तय भइसकेका छैनन् ।
  • स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय पुँजीको व्यापक रुपमा विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु पर्दछ । 
  • दलाल पुँजीको बोलबालाका कारण व्यापार घाटा आकासिएको छ र हाम्रै देशको श्रम र पुँजी लगानीमा आधारित उद्योग व्यवसाय कमजोर अवस्थामा रहेकाछन् भने शासन प्रणालीलाई समेत ठिक दिशामा हिँडाउन अवरोधहरू देखिएका छन् ।
  • नेपाली समाजको आर्थिक विकासका मूल आधारहरू कृषि, पर्यटन र प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू हुन । यी मूल आधारको व्यापक रूपमा औद्योगीकरण तथा व्यवसायीकरणबाट हामीले देशको आमूल रूपान्तरण गर्नुछ । 
  • केही कृषि क्षेत्रमा व्यावसायिक खेती सुरूआत भएको भए पनि कृषिको ठूलो क्षेत्र निर्वाहमुखी उत्पादन प्रणालीमा रहेकोले यसको व्यापक औद्योगीकरण र व्यवसायीकरणको ठोस कार्ययोजना बनाइनु आवश्यक छ ।
  • हामीसँग भएका अपार प्राकृतिक संपदाहरूको अध्ययन—अनुसन्धान नभएका कारण उक्त सम्पदाहरूमा आधारित भएर औद्योगीकरण र व्यवसायीकरण हुन सकेको छैन ।
  • हालको शिक्षा नीतिले हाम्रो विकासका मूल आधारहरूलाई आवश्यकता बमोजिमको जनशक्ति उत्पादन गर्न सकेको छैन । हामीले उत्पादन गरेको शैक्षिक जनशक्ति दक्ष तथा सीपयूक्त छैन । प्राविधिक शिक्षा विकासमा अत्यधिक ध्यान दिन आवश्यक छ । 
  • पर्यटनका विविध क्षेत्रहरूको सम्भावना प्रचुर मात्रामा भएर पनि यस क्षेत्रलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्न पर्यटन गुरूयोजनासाथ अघि बढाउन सकिएको छैन । 
  • दुर्गम तथा पछि परेका जनतामा स्वास्थ्य उपचार आवश्यक मात्रामा उपलब्ध छैन भने कैयौँ नागरिक स्वास्थ्य उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने बाध्यतामा छन् ।
  • जनचेतना र शैक्षिक ज्ञानको अभावमा दूरदराजका नागरिकहरू पुराना अन्धविश्वासी विचारका कारण दुःख पाउदै मृत्युवरण गर्न बाध्य छन् ।
  • आफ्नो देशमा भविष्य र अवसर नदेखेर शिक्षित तथा ज्ञान सीपको अभावका कारण लाखौँ युवाहरू विदेशिन बाध्य छन् ।
  • समाजवादको आधारको रूपमा हामीले पहिलो चरणमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषयमा सबै नेपालीहरूको आधारभूत आवश्यकताको परिपूर्ति गर्न आवश्यक छ ।

३. समस्या तथा चुनौतीहरू:
नेपाल यतिबेला इतिहासको ज्यादै महत्त्वपूर्ण मोडमा उभिएको छ । अझै पनि नेपाली समाज संक्रमणकालबाट माथि उठ्न सकेको छैन । हामीले समाजका अन्तर्विरोधहरूलाई सही किसिमले व्यवस्थापन गर्न सक्यौँ भने समाजले छोटो समयमा ज्यादै ठुलो फड्को मार्नेछ भने मुस्किलले अगाडि बढाउनु पर्ने परिस्थिति रह्यो भने विकासका कार्यहरू हिजोभन्दा केही सुस्त गतिमा मात्र अघि बढ्नेछ । हामीले वर्तमान अवस्थाका चुनौतीहरूलाई सामना गर्न सकेनौँ भने नेपाली समाज फेरि विकासको भुमरीमा नाँचिरहने छ । ​​​​​​​

अहिले नेपाली समाजको आमूल रूपान्तरणमा देखिएका चुनौतीहरू यस प्रकार रहेको देखिन्छ:

  • राज्य सत्तामा पुरातन सत्ताका केही अंगहरू परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा कार्यान्वयन गुर्नपर्ने अवस्था छ । सामन्ती समाजका अवशेषहरु पहिचान गरी विकसीत पूँजीवादी समाजमा रुपान्तरण गर्दै पूँजीवादी समाजकै जगमा हामीले समाजवाद उन्मुख समाज तर्फ नेपाली समाजलाई रुपान्तरण गर्नु अहिलेको दायित्व हो ।
  • संविधानमा उल्लेख भएका विषयहरू कार्यान्वयनका लागि आवश्यक ऐन—कानूनहरू बनाउँदै संघीय लोकतान्त्रिक संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जानु छ ।
  • यतिबेला नेपाली समाज उत्पादनका दृष्टिले पछौटे पुँजीवादी अवस्थामा छ र यसलाई विकासित पुँजीवादी समाज हुँदै समाजवादी समाजमा रूपान्तरण गर्नुछ । विचारका दृष्टिकोणले नेपाली समाज सामन्तवाद, पूँजीवाद र समाजवादी समाजको त्रिकोणीय अवस्थामा उभिएको छ ।
  • विगतका सामाजिक व्यवस्थाबाट आएका कर्मचारी र विकासमा अवरोधमुखी कार्यशैली तथा मनोविज्ञानलाई रूपान्तरण गर्नु पर्ने छ ।
  •  नेपाली समाजमा रहेको निर्वाहमुखी र पछौटे उत्पादन प्रणालीलाई समूल अन्त्य गर्नु छ । 
  • नेता तथा कार्यकर्तामा रहेको पुँजीवादी सोच, व्यवहार तथा कार्यशैलीलाई समाजवाद उन्मुख कार्यशैलीमा रूपान्तरण गर्दै नेपाली समाजलाई समाजवादी समाजतर्फ अघि बढाउन अगुआइ गर्नु पर्नेछ ।
  •  नेपालमा नै रहेको र विदेशिएको जनशक्तिलाई रोजगार तथा स्वरोजगार बनाउन नेपालमा रहेका कृषि, पर्यटन र प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान र परिचालन तथा व्यवस्थापन गरी औद्योगीकरण र व्यवसायीकरण गर्न आवश्यक छ ।
  • नेपाली उत्पादन बढाउने र आफ्नो उत्पादन उपयोग गर्नु पर्दछ भन्ने राष्ट्रिय भावनाको विकास गर्न आवश्यक छ ।
  • जनअभिमतवाट निर्वाचित कम्युनिष्ट पार्टीको सरकारले पनि समाजको आमूल रूपान्तरणमा काम गर्न सक्छ भन्ने उदाहरण विश्व कम्युुनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने अन्तराष्ट्रिय चुनौती रहेकोछ ।
  • अब नेपालको विकासको अगुआइ गर्ने शक्ति कम्युनिष्ट पार्टी हो र यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ भन्ने विचार र विश्वास आमजनता र साना दलहरूका बीचमा स्थापित गर्नुपर्ने अवस्था रहेकोछ । 
  • समाजका हरेक क्षेत्रमा रहेको दलाल पुँजीको ​​​​​​​विस्थापनका लागि राष्ट्रिय पुँजीको यथेष्ट विकास गर्नु पर्नेछ भने पद प्रतिष्ठालाई दुरुपयोग गरी अकुत संपत्ति कमाउने र प्रजातान्त्रिक शासन प्रणालीलाई नै चुनौती दिने हैकमवादी तथा शोषणवादी सोचलाई रूपान्तरण गर्ने काम नै नेपाली समाज रूपान्तरणको मुख्य चुनौतीको रूपमा रहेकोछ  ।    

४. रूपान्तरणका सम्भावनाहरू :
नेपाली समाजका अन्तर्विरोधहरूको पहिचान र सही ढङ्गले परिचालन गर्न सकियो भने यो समय नेपालको इतिहासको ज्यादै स्वर्णिम अवस्था हो । नेपालीहरूको बलिदान र नेपालको राजनीतिक पार्टी तथा यसको नेतृत्वको कारण विगतमा हामीले गर्न सकिँदैन कि भनेका धेरै कार्यहरू सफलतासाथ सम्पन्न गरेका छौँ । विगतमा राणा शासनको बारेमा बोल्नु भनेको ज्यानको बाजी लगाउनु हुन्थ्यो र त्यस अवस्थामा नेपालबाट राणा शासनको अन्त्यका बारेमा सोच्नु ज्यादै ठुलो विषय थियो । तर  नेपाल आमाका केही सपुतहरूको अगुवाइ र नेपाली जनताको सहभागितामा नेपालबाट राणा शासन अन्त्य भयो ।

पञ्चायती शासनकालमा पनि पञ्चायत र राजतन्त्रको विरोध गर्नु पहाडलाई कुहिनोले भत्काउनु जस्तै हो भन्ने भनाइ हाम्रो समाजमा थियो । त्यस समयलाई पनि नेपालका राजनीतिक दल र जनताको बलिदानीपूर्ण आन्दोलनले परास्त गर्यो र राजासहितको बहुदलीय शासन प्रणाली लागू भयो । जब यस व्यवस्थामा पनि राजाले जनताको अधिकारमाथि कुठाराघात गरी एकलौटी शासन चलाउन थाले, त्यसबेला जनताको शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको संयुक्त अभियानले नेपालमा राजतन्त्रको समूल रूपमा अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुन पुग्यो ।

यसरी नेपालमा जब जब नेपाली समाजको रूपान्तरणको कुरा आउँछ तब तब यसका विरोधी तत्त्वहरूले नेपाली जनतामा अविश्वासी र भ्रमपूर्ण सन्देशहरू पुर्‍याउने र केही समयका लागि अन्यौल र अस्थिरता सिर्जना गर्ने गरेका छन् । तर नेपालका राजनीतिक दलहरूको सुझबुझपूर्ण नेतृत्वले समाजलाई सही दिशामा अगाडि बढाउँदै आएकोले अब समृद्ध नेपाल र सुखी नेपालीको लक्ष पनि पूरा हुनेछ । उल्लेखित चुनौतीहरूलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएमा नेपाल समृद्ध राष्ट्रको रूपमा अगाडि आउने कुरामा दुई मत नहोला । 

वर्तमान अवस्थामा नेपाली समाजलाई सही किसिमबाट सञ्चालन गर्दा यस प्कारका संभावनाहरू देखिन्छ:

  • नेपाली समाजमा समाजवादका आधारहरू तयार हुनेछन् ।
  • नेपाल विकसित राष्ट्रको मूल बाटोमा अगाडि बढ्नेछ ।
  • हाम्रा सन्नतिहरूले आफ्ना पुर्खाप्रति गर्व गर्ने र सम्मानसाथ हेर्ने वातावरण हुनेछ ।
  • अहिले नेपाली जनतामा सबै पार्टीहरू उस्तै त हुन कसले के पो गर्न सक्छ र ? भन्ने भावनामा रूपान्तरण आउनुका साथै नेपालका असल राजनीतिक शक्तिहरूलाई जनताले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेछ । 
  • आमजनतामा विकास र समृद्धिको बाटो हिँड्न प्रोत्साहन हुनेछ र विदेशिएका नेपाली युवा तथा बौद्धिक व्यक्तित्वहरू नेपाल फर्कन थाल्नेछन् ।
  • नेपालको समृद्धिमा हामीसँग भएका साधन स्रोतहरूको अत्यधिक रूपमा सदुपयोग गर्दा देशको विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनेछ ।
     

५.निष्कर्ष:
हामीले विगतका आन्दोलनहरूबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा र विकास गर्दै हामीसँग भएको साधन स्रोतहरूको अत्यधिक रूपमा सदुपयोग गरेर मात्र हामीले हाम्रो देशलाई विकासको बाटोमा अगाडि डोर्‍याउन सक्नेछौँ । दलाल पुँजीवादका विरुद्ध व्यापक रूपमा औद्योगीकरण गर्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउँदै नोकरशाही पुँजीवादका विरुद्ध सुशासन कायम गर्न दृढताको साथमा उभिन आवश्यक छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्नका लागि नेता तथा कार्यकर्ताहरूले आ—आफ्नो कार्यक्षेत्रमा इमानदार, प्रतिबद्ध र अगुवा भई लाग्नु पर्ने अवस्था रहेको छ भने नेतृत्व तथा कार्यकर्ताहरू समाजवादी सोच तथा कार्यशैलीमा रूपान्तरण भई अनुशासित, एकताबद्ध हुँदै समाजवाद निर्माणको अभियानमा आफू स्वयं उदाहरणीय रूपमा जनताको बीचमा स्थापित बन्दै लाग्न आवश्यक छ । यसो भयो भने मात्र नेपाली जनताले विगतका आन्दोलनमा हाम्रो आव्हानलाई आत्मसाथ गर्दै बलिदानी भावनाले लागेको कार्यको मूल्याङ्कन गर्नेछन् । यो नै यतिबेला नेपालको वर्तमान राजनीतिको चुनौती र सम्भावना हो भने इतिहासले हाम्रा काँधमा सुम्पिएको गहन जिम्मेवारी पनि हो । 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : २६ बजे