काठमाडौँ । नेपाल आयल निगमले कमिसन रोकेको भन्दै गत शुक्रवारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डिपो सञ्चालनमा आउने भएका छन् । पछिल्लो समय इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिसन रोकेको थियो । तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिवार निगमले ४ बुँदे सहमति गरेको हो ।
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो।
सहमति पत्रमा भनिएको छ, “पेट्रोलियम विक्रेता कमिसनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भयो । पेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो आइतबार बिहान ८ बजेबाट सञ्चालन गरिने छ।”
प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार ७ : ४२ बजे
प्रतिक्रिया