चुनाव चिन्ह त्रिशुल हुन्छ भन्दै मजाक गर्नेको हालत पल्टिनेछ : अध्यक्ष ओली

 खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताउनु भएको छ । खोटाङको दिक्तेलमा सनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आउनुभएको अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउँने नेताको हालत पल्टिने बताउनु भएको हो । 

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताउनुभयो । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’ अध्यक्ष ओलीले भन्नुभयो , ‘शिवजीको त्रिशुलको फेला परेपछि यिनीहरूको हालत के होला ? ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशुल त शिवजीले हान्छन् । शिवजीको त्रिशुल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’ 

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आउनुभएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताउनुभयो । अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गर्नुभएको थियो । ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गर्नुभयो । उहाँले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गर्नुभयो । 

हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओलीले दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुग्नुभएको छ । जनसभाका लागि हजारौं कार्यकर्ता उतारेको एमालेले दावी गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ३३ बजे