लघुकथा : असल मित्र !

“आमा ! यी यो चिह्नमा छाप लगाउनु है ।” मतपत्र देखाउँदै छोराले भन्यो । 

“आच्या ! यो चिह्न सन्तेको होइन  र?” आश्चर्य मान्दै आमाले सोधिन् । 

“हो आमा, यो सन्तबहादुरकै चुनाव चिह्न हो । किन  र?”
आमाले छोराको अनुहारमा हेर्दै लामो सास फेरिन् । केही बोलिनन् ।  

“के भयो आमा ?”
“हिजो तिम्रा विरुद्धमा सुराकी गर्ने र टाउकाको मोल तोकेर हिँड्ने त्यही होइन ? उसले के भनेको थियो थाहा छ तिमीलाई ?” आक्रोशित मुद्रामा आमाले भनिन्, “तेरा छोराको टाउको काटेर फुटबल खेल्ने हो,

बुझिस् बुढी ।” 

छोरो केही बोलेन, उनैले भनिन्, “तिमी यसरी बाँचेर आउला भन्ने आशै मारेकी थिएँ ।”  

छोरो अलमलमा प¥यो । केही समयपछि बिस्तारै भन्यो, “आमा ! राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन । अहिले हामी सबैतिर मिलेका छौँ । असल मित्र भएका छौँ ।”
आमा केही बोलिनन् । पेट बटारिएर बान्ता होलाजस्तो भयो । उठेर बाहिर गइन् । 

                                                               +++                      +++                            +++

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : १९ बजे