कञ्चनपुर। विकास निर्माणमा भीमदत्त अब्बल नगरपालिकाका रुपमा परिचित भएको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ ।
जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा नगरपालिकाले हरेक वडावडामा कार्यालय भवन निर्माण, कालोपत्र सडक, आधुनिक सडक निर्माणको कार्यसँगै नयाँ सडक निर्माणमा जोड दिएको छ । नगरपालिकाले उत्तरतर्फ चुरे फेदीमा धार्मिक पर्यटन मार्ग र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटकीय मार्ग निर्माण गरेको छ । जसको लम्बाइ ८१ किलोमिटर रहेको छ । पर्यटकीय मार्गसँगै यो मार्ग नगरको बाहिरी चक्रपथका रुपमा समेत रहेको नगरप्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो ।
“नगरपालिकाका १९ वटै वडालाई जोड्ने गरी सडकमार्ग निर्माणमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट नगरवासीको दिनचर्या समेत फेरिएको छ । सबै वडा सडक मार्गसँग जोडिएका छन् ।” उहाँका अनुसार पछिल्लो चार वर्षको अवधिमा नगरपालिकामा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । १७ किलोमिटर नयाँ सडक निर्माण भएको छ । पाँच किलोमिटर पदमार्ग निर्माणसँगै २४७ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
चुरे फेदीमा २० देखि २२ मिटर चौडाइको २९ किलोमिटर धार्मिक पर्यटन मार्ग र पाँच किलोमिटर बढी शुक्लाफाँटा पर्यटन मार्ग निर्माण भएको छ । जुन नगरपालिकाको सबैभन्दा ठूलो र बाहिरी चक्रपथको योजना हो । लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले लगानी साझेदारीसँगै ठूलो पहल गरेको छ । तीनवटै सरकारको लगानी साझेदारीमा विमानस्थलको पुनः निर्माण कार्य अघि बढेको छ ।
एसियाली विकास बैंकको ग्रामीण सहरी विकास कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रको १४ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । जसबाट महेन्द्रनगर बजारका गल्लीहरू १० मिटर र मुख्य सडकहरू २० देखि ३० मिटरसम्म चौडा हुनेछन् । सडकको दुवैतर्फ साइकल लेन, फुटपाथदेखि वृक्षरोपणसमेत गरिनेछ । त्यस्तै, एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सके थप २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । तर यसका लागि पहिलो सर्त फोहोरमैला व्यवस्थापन केन्द्र नै छ । करिब तीन अर्ब बजेट रहेको कार्यक्रममा फोहोरमैला व्यवस्थापन केन्द्रका लागि मात्रै रु ६० करोड छुट्याइएको छ । बाँकी रकम सडक स्तरोन्नतिमा खर्च गरिनेछ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके बाँकी रकम फिर्ता जानेछ ।
यसअघि पनि बजार क्षेत्रमै सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाको विभिन्न क्षेत्रमा ४० किलोमटर सडक कालोपत्र तथा स्तरोन्नति भएको छ । नगरकै सबैभन्दा दुर्गम मानिने वडा नं ९ को खल्ला मुसेट्टीसम्मै सडक, विद्युत् र टेलिफोन सेवा सञ्चालनमा आएको छ । नगरपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ । जसमा अधिकांश सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । त्यस्तै नगरपालिकाले करिब १६ करोडको लागतमा मुख्य प्रशासनिक भवन पनि निर्माण भइरहेको छ ।
नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा वातारणमैत्री पालिका निर्माण गर्ने उद्देश्यका साथ भीमदत्त–१८ मा इको खुला जिमसहित इको पार्क र अन्य वडामा उद्यान निर्माण गरेको नगरप्रमुख बिष्टको भनाइ छ । चालु आर्थिक वर्षमा पनि उपभोक्ता समितिमार्फत एक सयभन्दा बढी र ठेक्कामार्फत नौवटा योजनाहरूमा सम्झौता भएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाको १९ वटै वडा कार्यालयका भवन निर्माणको अन्तिम चरणमा छन् । सबै वडामा आधारभूत स्वास्थ्य सेवाका लागि पनि भौतिक पूर्वाधार निर्माणसँगै सञ्चालन गरिएको छ । ज्येष्ठ तथा अपाङ्गता भएका र एकल महिलालाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिएको छ ।
नगरपालिकाले महेन्द्रनगरमा प्राविधिक शिक्षा अध्ययन गर्न महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । पर्यटन विकासका लागि झिलमिला र बाह्रकुण्डा तालहरूको संरक्षणको कार्य गरिएको छ । महाकाली नदीको बहुउपयोग गर्ने नीतिअनुरूप भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीमा ¥याफ्टिङको सफल परीक्षण गरिएको छ । उक्त क्षेत्रमा भरतीय पक्षले यसअघि नै ¥याफ्टिङ सञ्चालनमा ल्याएको छ । सरकारले अनुमति नदिँदा नेपाल तर्फबाट ¥याफ्टिङ सञ्चालन हुन सकेको छैन ।
शुक्लाफाँटा साक्षर नगर घोषित
शुक्लाफाँटा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका निरक्षर अवस्थामा रहेका दुई हजार २८८ जनामध्ये दुई हजार १७८ (९५ दशमलव ५४ प्रतिशत) व्यक्तिलाई साक्षर बनाइएपछि नगरपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको हो ।
नगरपालिकामा अब ४ दशमलव ४६ प्रतिशत व्यक्तिहरु मात्रै निरक्षर रहेका छन् । निरक्षर अवस्थामा रहेका व्यक्तिहरुको पहिचान गरी नगरपालिकाले कार्यक्रम सञ्चालन गरी पूर्ण रुपमा साक्षर बनाउने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । उहाँका अनुसार साक्षर नेपाल कार्यक्रमअन्तर्गत नगरपालिकाका १२ वटै वडामा ९० वटा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाउने कार्य गरिएको थियो ।
वडा नं १ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई, वडा नं ७ मा १६, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा ६, वडा नं ११ मा नौ र वडा नं १२ मा २९ वटा साक्षरता कक्षा सञ्चालन भएका हुन् । साक्षरता कक्षा सञ्चालनका लागि सहजकर्ताको तलब, शैक्षिक सामग्री खरिद, मसलन्द खरिद, कार्यालय व्यवस्थापन खर्च गरी रु २० लाख बजेट परिचालन गरिएको थियो ।
शिक्षा इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख पदमराज कलौनीका अनुसार जिल्लामा हालसम्म शुक्लाफाँटा नगरपालिकासहित बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका साक्षर घोषणा भएका छन् । “अन्य स्थानीय तहले साक्षर नगर घोषणाका लागि तयारी गरेका छन्,” उहाँले भन्नुभयो, “केही अन्तिम तयारीमा रहेका छन् ।”
चालु आवभित्रै कञ्चनपुर जिल्लालाई नै साक्षर जिल्ला घोषणाका लागि तयारी भइरहेको छ । यसका लागि साक्षर घोषणा नभएका पालिकाहरुले सहयोग गर्नुपर्छ । “साक्षरता सिकाइका लागि साक्षरता अभियानको स्थानीय व्यवस्थापन, सहकर्ताको व्यवस्था र सहभागीको अनुकूलताअनुसार समुदायमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी परिचालन गरिएको थियो,” नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “यसका अतिरिक्त समुदायका निरक्षरहरुलाई समूहको पहलमा साक्षर गराउने कार्य गरिएको थियो ।”
उहाँका अनुसार आफ्नो परिवारमा रहेका निरक्षर व्यक्तिहरुलाई परिवारकै साक्षर व्यक्तिको पहलमा साक्षर गराउने कार्यसँगै कक्षागत प्रणालीबाट सहजकर्ता परिचालन गरी निरक्षरलाई साक्षर गराइएको छ । “कोभिड–१९ को सङ्क्रमणका बाबजुदसमेत निर्धारित स्वास्थ्य मापदण्ड अपनाई साक्षरताका कक्षा सञ्चालन गरी निरक्षरहरुलाई साक्षर गराउनका लागि कार्य अगाडि बढाएका थियौँ,” उहाँले भन्नुभयो, “यसका लागि जनसामुदायिक सिकाइ केन्द्र र मालिका सिकाइ केन्द्रको अहम् भूमिका रहेको छ ।” रासस
प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार २ : ३८ बजे
प्रतिक्रिया